Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


महानगरले ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउने


208
Shares

काठमाडाैं ।

काठमाडौं महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्युनिकरण गर्न ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ ।

वर्षाको पानी सङ्कलन तथा जमिनमा पुनर्भरण (रिचार्ज) गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताउनुभएको हो ।

आईतवार काठमाडौं महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सवमा बोल्दै डंगोलले काठमाडौंमा थोरै पानी पर्दासमेत बाढी आउने अवस्था सिर्जना भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो ।

उहाँकाअनुसार सहरी बाढीको समस्या समाधानका लागि अध्ययनसमेत भइरहेको छ । डंगोलले विगतमा शहरी क्षेत्रमा गरिएका विकास तथा संरचना निर्माणका कारण सिर्जित समस्या सुधार गर्दै जानुपर्ने बताउनु भयो । करिव तीन दशकअघि शुरु भएका शहरी समस्या अहिले ‘अर्बन फ्ल्यास फ्लड’का रूपमा देखिन थालेको उहाँको भनाइ छ ।

काठमाडौंमा वर्षाको पानीलाई सकेसम्म जमिनमै पुनर्भरण गर्ने उद्देश्यले रेन वाटर हार्भेस्टिङ तथा रिचार्जका कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनु भयो । अहिले गर्न सकिने कामबाटै समाधानको शुरुवात गर्नुपर्ने भन्दै उहाँले ‘रिचार्ज काठमाडौँ’ अभियान अघि बढाउन लागिएको जानकारी दिनुभयो । डंगोलले शहरी बाढीको समस्या समाधानका लागि दीर्घकालीन उपायबारे अध्ययन भइरहेको र अध्ययनका आधारमा थप कार्यक्रम अघि बढाइने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अर्बन एरियाको विषयमा अघि पनि कुरा उठेको छ । हरिवंश आचार्यज्युले पनि निकै मिठो ढङ्गले भन्नुभयो, विगत ३० वर्षमा हामीले धेरै कुरा बिगारेका छौँ, अब बिग्रिएका कुरालाई सुधार्दै जानुपर्छ । आज हाम्रा कलाकार साथीहरूले पनि यही महत्वपूर्ण सन्देश दिनुभएको छ । विशेषगरी अर्बन फ्ल्यास फ्लड अहिले ठूलो चुनौती बनेको छ । पहिले पानी पर्दा आनन्दले निद्रा लाग्थ्यो, तर अहिले पानी पर्न थालेपछि चैनसँग सुत्न सक्ने अवस्था छैन ।

मध्यरातमै पनि नगर प्रहरी, विपद् व्यवस्थापन टोली र जनप्रतिनिधिहरू कुनै विपद् आइपरे फिल्डमा जानुपर्ने भन्दै स्ट्यान्डबाइमा बस्नुपर्छ । यस समस्याको दीर्घकालीन समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ । तर अहिले हामीले जेबाट काम शुरु गर्न सक्छौँ, त्यहीँबाट सुरु गरौँ भन्ने उद्देश्यले ‘रिचार्ज काठमाडौँ’ अभियान अघि बढाउँदैछौँ ।

यस अभियानमार्फत वर्षाको पानी सङ्कलन गर्ने, जमिनमा पुनर्भरण गर्ने र पानीको उचित व्यवस्थापन गर्ने कामलाई प्राथमिकता दिइनेछ । हामीले आजैदेखि गर्नसक्ने कामबाट शुरुवात गर्दै काठमाडौँलाई बाढीको जोखिमबाट सुरक्षित र व्यवस्थित बनाउने दिशामा अघि बढ्नुपर्छ ।’
पछिल्लो समय वर्षाको पानी परेपछि काठमाडौंमा बाढीको जोखिम बढ्दै गएको भन्दै उहाँले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।