Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम हो : झलनाथ खनाल


130
Shares

काठमाडाैं ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले हिमाली क्षेत्रमा देखिँदै आएका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्लाई नेपालको आन्तरिक समस्या मात्रका रूपमा हेर्न नहुने बताउनुभएको छ ।

काठमाडौंमा शनिवार आयोजित काष्ठमण्डप संवादको तेस्रो श्रृंखलामा बोल्दै खनालले यस्तो बताउनुभएको हो । यस्ता विपद् विश्वव्यापी तापक्रम वृद्धिसँग जोडिएको भन्दै हिमाली जोखिम न्युनिकरणका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो ।

नेपाल र चीनबीचको सम्बन्धमा चीनलाई समृद्धि र संकट दुवै अवस्थामा विश्वासिलो मित्रका रूपमा चित्रण गर्दै खनालले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनले देखाउँदै आएको समर्थनको प्रशंसा गर्नुभयो ।

उहाँकले नेपालले एक चीन नीतिप्रतिको प्रविबद्धता कायम राख्नुपर्ने र नेपालको भूमि चीनविरुद्ध हुने कुनैपनि गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पार्नुभयो ।भोटेकोशीको आकस्मिक बाढीका सम्बन्धमा चीनले पूर्वसूचना नदिएको भन्ने सार्वजनिक टिप्पणीप्रति खनालले असहमति जनाउनुभयो ।

उहाँले यस्ता आरोप तथ्यमा आधारित नभएको बताउनु भयो । हिमाली क्षेत्रमा हुने विपद्लाई नेपालभित्रको मात्र विषयका रूपमा हेर्न नहुने भन्दै उहाँले जलवायु परिवर्तन र सीमापार पारिस्थितिक जोखिमको व्यापक सन्दर्भमा यस्ता घटनाको अध्ययन गर्नुपर्ने बताउनुभयो । खनालकाअनुसार विश्वको कुल कार्बन उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्युन भएपनि जलवायु परिवर्तनको गम्भीर असर नेपालले भोगिरहेको छ ।

त्यसैले नेपालले जल तथा मौसमसम्बन्धी सूचना आदानप्रदान, विपद् पूर्वतयारी र अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तारलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमको सामना गर्न नेपाल, चीनसहित क्षेत्रीय तथा विश्व समुदायबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।

पूर्वप्रधानमन्त्री खनालले नेपाल–चीन सम्बन्धलाई थप व्यावहारिक बनाउन सीमापार पूर्वाधार र कनेक्टिभिटीका आयोजना अघि बढाउनुपर्नेमा जोड दिनुभयो । रेलमार्ग, सडक, सञ्चार तथा अन्य भौतिक पूर्वाधारले नेपालको व्यापार, पर्यटन, लगानी र जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सहमति भएका आयोजनाको कार्यान्वयनमा ढिलाइप्रति चिन्ता व्यक्त गर्दै खनालले विशेषगरी ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्कसँग सम्बन्धित परियोजनालाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले बदलिँदो विश्व व्यवस्था, चीनको बढ्दो प्रभाव, सांघाई सहयोग संगठनको भुमिका, डलरको निर्भरता घटाउने प्रवृत्ति र ग्लोवल साउथको बढ्दो प्रभावलाई नेपालले रणनीतिक रूपमा मूल्यांकन गर्नुपर्ने बताउनुभयो । खनालले नेपाल–चीन सम्बन्धको नयाँ आधारका रूपमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा सहकार्य विस्तार गर्नुपर्ने बताउनु भयो । नेपाली युवाले प्रविधि, उद्यमशीलता र डिजिटल नवप्रवर्तनमा आफ्नो क्षमता विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल र चीनबीच प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनमा सहकार्य बढाउनसके त्यसले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने उहाँको भनाइ छ । स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति, बलियो सीमापार कनेक्टिभिटी तथा नेपाल–चीनबीच सहमति भएका विकास आयोजनाको समयमै कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै खनालले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।