Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


देशलाई समृद्ध बनाउन हरित ऊर्जा र विद्युतीय सवारीकाे व्यवस्थापन गर्न आवश्यक: उपराष्ट्रपति यादव


130
Shares

काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकलाई वातावरणमैत्री र प्रविधिमैत्री दिशामा अगाडि बढाउन हरित ऊर्जामा आधारित सवारी साधनहरूको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता भएको बताउनुभएको छ।

काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि शुरु भएको ‘नाडा अटो शो’ को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले नेपालजस्तो विकासशील राष्ट्रका लागि अन्तर्राष्ट्रिय स्तरको सवारी प्रदर्शनीको महत्व बहुआयामिक हुने उल्लेख गर्नुभयो । यस्ता प्रदर्शनीले उपभोक्तालाई बजारमा भित्रिएका नयाँ प्रविधि, इन्धन दक्षता, सुरक्षा सुविधा र वातावरणीय प्रभावबारे प्रत्यक्ष जानकारी लिई सही निर्णय लिन सहयोग पुग्ने उहाँको विश्वास छ ।

अटोमोबाइल क्षेत्र नेपालको राजस्व संकलनको प्रमुख स्रोतमध्ये एक भएको चर्चा गर्दै उपराष्ट्रपति यादवले यस क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौँ युवालाई रोजगारी तथा प्राविधिक कौशल प्रदान गरी आत्मनिर्भर बन्ने आधार तयार पारेको बताउनुभयो । विद्युतीय सवारीको व्यापक प्रयोगले इन्धनको परनिर्भरता घटाई व्यापार घाटा कम गर्न प्रत्यक्ष सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभएकाे छ।

साथै, कार्बन उत्सर्जन न्यून गर्दै सहरी क्षेत्रको वायु प्रदूषण नियन्त्रण गर्न र जलवायु परिवर्तनका चुनौतीहरूसँग लड्न ‘ईभी’ प्रविधि निर्णायक सावित हुने उहाँको भनाइ थियाे । वातावरण संरक्षण र दिगो विकासका लागि विद्युतीय सवारी साधनलाई केवल विकल्पका रूपमा मात्र नभई राष्ट्रिय प्राथमिकताका रूपमा विकास गरिनुपर्नेमा उहाँले जोड दिनुभएकाे छ।

उपराष्ट्रपति यादवले नाडाको स्वर्ण जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै नाडा अटो शो २०२६ ले नेपालको अटोमोबाइल क्षेत्रलाई आधुनिक प्रविधि र हरित ऊर्जातर्फ उन्मुख गराउन सशक्त उत्प्रेरकको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले देशको समृद्धिका लागि निजी क्षेत्र, सरकार र नागरिक समाजको एकीकृत प्रयास अपरिहार्य रहेको समेत बताउनुभएकाे छ।