Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


सात पोखरी अतिक्रमणमुक्त बनाउन जनकपुरमा चलाइयो डोजर


0
Shares

काठमाडाैं । जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका गुठी संस्थानका अतिक्रमित जग्गा तथा पोखरीहरू खाली गराउने अभियान शुरु भएको छ ।

गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिले शनिवारदेखि डोजर प्रयोग गरी अनधिकृत संरचनाहरू भत्काउन थालेको हो । पहिलो चरणमा पोखरीका डिलहरूलाई अतिक्रमणमुक्त बनाउने योजना अनुरूप जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ स्थित गिरनारी पोखरीबाट कार्य प्रारम्भ गरिएको छ ।

गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्यसचिव जनक पोखरेलकाअनुसार सोमबार जनकपुरका सातवटा पोखरीको अतिक्रमण हटाइनेछ । जसमा गोरधोई, विषहरा, रत्नसागर र दीर्घिका सर लगायतका पोखरीहरू समावेश छन् ।

सदस्य सचिव पोखरेलले गत साउन १ गते नै अतिक्रमित संरचना हटाउन सार्वजनिक सूचना जारी गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले सूचनामार्फत स्वतःस्फूर्त रूपमा संरचना हटाउन आग्रह गरेका थियौँ । केही व्यक्तिहरूले आफैँ हटाउनुभयो भने बाँकी रहेका ६५ वटा कच्ची तथा पक्की संरचनाहरू आज हटाइनेछ ।’

यो अभियान वि.सं. २०६२ मा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा सञ्चालन गरिएको हो । उक्त प्रतिवेदनमा पहिचान गरिएका ४९ वटा पोखरीमध्ये पहिलो चरणमा मुख्य पोखरीहरूलाई अतिक्रमणमुक्त गराइनेछ । समितिको कार्ययोजनाअनुसार पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र तेस्रो चरणमा अन्य प्रकृतिका अतिक्रमित जग्गाहरू खाली गराइने वर्गीकरण गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले संघीय सरकारको निर्णय र समन्वयमा यो अभियान अगाडि बढेको बताउनु भयो । उहाँले स्थानीय प्रशासन, मालपोत, नापी कार्यालय र उपमहानगरपालिकाको सहभागितामा समिति बनेको जानकारी दिँदै नागरिकहरूलाई सहयोग गर्न अपिल गर्नुभयो ।

नगर प्रमुख साहले भन्नुभयो, ‘२०४४ सालको नापीमा आफ्नो हकभोग प्रमाणित नभएका र गुठीको जग्गामा रहेका संरचनाहरू खाली गरी सरकारलाई सहयोग गर्न म सबैमा आग्रह गर्दछु ।’ अभियान अन्तर्गत जानकी मन्दिर, राम मन्दिर, रत्न सागर, गिरनारी कुटी जस्ता राज्य गुठी अन्तर्गतका महत्वपूर्ण क्षेत्रको जग्गा संरक्षणमा विशेष ध्यान दिइने बताइएको छ ।

सार्वजनिक र गुठीको सम्पती संरक्षण गर्ने उद्देश्यले शुरु गरिएको यो कार्यले जनकपुरको ऐतिहासिक र सांस्कृतिक स्वरूपलाई पुनस्र्थापना गर्ने विश्वास लिइएको छ ।