Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


चलचित्र ‘हली’ दोस्रो हप्तामा प्रवेश, देशव्यापी रूपमा दर्शकको मन जित्न सफल


182
Shares

काठमाडौं । चलचित्र ‘हली यतिबेला दोस्रो हप्तामा प्रवेश गरेर सफलताका साथ देशैभर प्रदर्शन भइरहेको छ।

नयाँ निर्माता जस्मिन श्रेष्ठ र पूजा गुरुङको पहिलो निर्माणकाे प्रयास रहेको याे चलचित्रले हाल देशैभर प्रदर्शनमा रहेकाे हाे ।शुरुवातमै ठूलो भड्किलो प्रचार र आक्रामक बजार रणनीतिबिना दर्शककाे माझमा आएको यस चलचित्रले आफ्नै मौलिक कथा, संवेदनशीलता र निरन्तरको मेहनतका कारण देशव्यापी रूपमा दर्शकहरूको मन जित्न सफल भएको छ।

चलचित्र निर्माणको दौरानमा विभिन्न पक्षबाट अपेक्षित सहयोग नपाए पनि बजारका केही चुनौतीहरू झेल्नुपरे तापनि निर्मात्री द्वय जस्मिन श्रेष्ठ र पूजा गुरुङले हरेश खाएका छैनन्। कतिपय हलहरूले सुरुमा उचित शो नदिए पनि दर्शकहरू स्वतःस्फूर्त रूपमा हलसम्म पुग्नुले चलचित्रप्रतिको उच्च जनचासो र आकर्षणलाई स्पष्ट पार्दछ।

डिजिटल माध्यममा प्रचारप्रसार केही कमजोर देखिए पनि निर्माण युनिटले तल्लो तह, जिल्ला(जिल्ला, स्थानीय समुदाय तथा विद्यालय स्तरबाटै विद्यार्थी र अभिभावकहरूलाई हलसम्म भित्र्याउने प्रभावकारी रणनीति अपनाएको हाे। निर्मात्रीद्वय जस्मिन र पूजाले पनि चलचित्र ‘हली’ केवल व्यापार मात्र नभई एउटा पवित्र सपना र इमानदार प्रयास भएको बताएका छन्

चलचित्र क्षेत्रभित्रका कतिपय व्यवहारले उनीहरुलाई दुःखी बनाएको छ । तर प्रचारमा केही कमी रहे पनि देशका जिल्ला-जिल्लाबाट विद्यार्थी, समुदाय र आम दर्शकले हलसम्म पुगेर दिएको अपार मायाले ठूलो हौसला मिलेको उनीहरुकाे भनाइ थियाे । ‘दर्शकको यहि साथ नै आफ्नाे वास्तविक लगानीको सुरक्षा भएकाे निर्मात्रीद्वयको तर्क छ।

निर्देशक ओम प्रतीकको परिपक्व निर्देशकीय दृष्टिकोण तथा कलाकारहरू प्रमोद दीप र सुजाता थापाको इमानदार अभिनयले निखारता पाएको ‘हली’ ले स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो अवसर पाएको हाे। साइप्रस र माल्दिभ्समा यसको सफल प्रदर्शन भइसकेको छ। हङकङ र बेलायतमा पनि प्रदर्शनको मिति तय भइसकेको जनाइएकाे छ।

शुरुवाती चरणमा थुप्रै बाधा अड्चनबीच शुरु भएको यो यात्रा अहिले सामूहिक दर्शकीय उपस्थितिका कारण मजबुत बन्दै गएको हाे। आगामी दिनमा ‘हली’ ले अझ उत्कृष्ट व्यावसायिक सफलता हासिल गर्ने बलियो संकेत देखाएको छ। नयाँ पुस्ताका निर्माताहरूका लागि प्रेरणाको स्रोत बनेको साेही चलचित्रको सफलता र लगानी सुरक्षित हुने समेत विश्लेषण भएकाे छ ।