काठमाडाैं । गायक, संगीतकार एवं गीतकार तथा वीर अस्पतालका कन्सल्टेन्ट सिनियर फिजिसियन डा. रणजित कुमार झाको नयाँ प्रेमिल गीत न गाँस्थे म प्रित र त्यसको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
आइतबार राजधानीको न्यूरोडस्थित जय नेपाल हलमा आयोजित विशेष समारोहमा ख्यातिप्राप्त अभिनेता, गायक, संगीतकार तथा गीतकार मदनकृष्ण श्रेष्ठको प्रमूख आतिथ्यतामा डा. झाको स्वर, शब्द र संगीतमा तयार भएको गीत तथा त्यसको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

फिल्मी गीतको शैलीमा तयार पारिएको गीत र यसको म्युजिक भिडियोमा प्रेम, आकर्षण र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ। न गाँस्थे म प्रित डा. रणजित कुमार झाको जीवन पथ २ एल्बममा समावेश गीत हो। गीतमा डा. झाकै शब्द, संगीत र स्वर रहेको छ। गीतको एरेन्ज पबिधान खालिङले गरेका छन् भने किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।
गीतको म्युजिक भिडियोमा सोहल्या झा र सुरेश कोहलीले अभिनय गरेका छन्। भिडियोमा सोहल्या र सुरेशलाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ। भिडियामा निर्देशन, कथा लेखन तथा कोरियोग्राफी कबिराज गहतराजको छ। रामशरण उप्रेतीको छायांकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन, कलर र जीएफएक्स रहेको छ। सरोज पाण्डेले मेकअप गरेका छन् भने सुर्य ओलीको प्रोडक्सन गरेका हुन्।
गीत तथा भिडियो सार्वजनिक कार्यक्रममा डा. रणजित कुमार झाले चिकित्सा पेसासँगै संगीतप्रतिको आफ्नो रुचिलाई निरन्तरता दिँदै आएको बताए। जीवन पथ २ एल्बमअन्तर्गत सार्वजनिक गरिएको यो गीतले अव्यक्त प्रेमिल भावनालाई संगीतमार्फत प्रस्तुत गरेको उनको भनाइ छ।

म्युजिक भिडियोका निर्देशक तथा कोरियोग्राफर कविराज गहतराजले गीत सुन्नासाथ त्यसले कल्पनामा डुबाएको र त्यसकै आधारमा रोमाञ्जक भिडियो बनाइएको बताए। अध्ययनका शिलसिलामा भारतमा रहेकी भिडियोकी मोडल तथा गायक झाको छोरी सोहल्या झाले भिडियो सन्देशमा ६ वर्षसम्म सिकेको भरत नाट्यम भिडियोका लागि काम लागेको र बुवाको भिडियोमा काम गर्न पाउँदा खुशी लागेको बताइन्।
अर्का मोडल सुरेश कोहलीले यो म्युजिक भिडियोबाट फिल्मी गीत र फिल्मी गीतको भिडियोको मजा लिएको बताए। गायक राजेश पायल राईले रणजितको प्रतिभालाई सामान्य ठाने पनि संगत गरेर स्वर सुनेपछि अद्भुत प्रतिभा पाएको बताए। त्यसै गरी प्रमूख अतिथी मदनकृष्ण श्रेष्ठले डा. झाको नशा नशामा संगीत पाएको बताए।
म्युजिक भिडियो सार्वजनिक भएसँगै न गाँस्थे म प्रित डा.रणजित कुमार झाकै युट्युब च्यानलका साथमा विभिन्न डिजिटल तथा म्युजिक स्ट्रिमिङ प्लेटफर्ममार्फत समेत उपलब्ध भएको छ। कार्यक्रममा रणजितको परिचयात्मक भिडियो र उनका आगामी गीतहरु साथी तँ रक्सी नखा र रातकी रानीको भिडियो ट्रेलर पनि सार्वजनिक गरिएको थियो।
एउटा हातले बिरामीको उपचार गर्ने चिकित्सक, अर्को हातले जीवनका अनुभूति, प्रेम र संवेदनालाई गीतमा उतार्ने सर्जका रुपमा पहिचान बनाएका डा. झाले बंगलादेशबाट एमबीबिएस र टिचिङ अस्पताल महराजगन्जबाट एमडी गरेका छन। उनको भारतको अपोलो अस्पताल बाट दुई गम्भीर बिषय मधुमेह र मुटु सम्बन्धी फेलोशिप पनि रहेको छ।
सप्तरीको ग्रामिण क्षेत्र कल्यानपुर प्राथमिक स्वास्थ उपचार केन्द्रबाट सेवा प्रारम्भ गरेका डा. रणजितले स्थनिय तहको जिरी अस्पताल दोलखा, प्रदेशिक अस्पताल लहान, गजेन्द्रनारायण सिह अस्पताल राजबिराज त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज र हालसेवारत बीर अस्पतालसम्म २१ बर्षको सेवा अबधिमा लगभग ९ बर्ष विभिन्न अस्पतालमा प्रमुख भएर नेतृत्व गरि सकेक छन्।
तीन दशक लामो सांगितीक करियरमा उनले गीत लेख्ने, त्यसमा धुन भर्ने र स्वरबद्ध गर्ने गर्दै आएका छन्। स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका लागि तत्कालीन राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीद्वारा प्रबल जनसेवाश्री २०७७ बाट विभूषित भइसकेका डा. रणजित कुमार झा, स्वास्थ्य तथा संगीत क्षेत्रमा पुर्याएको योगदान र २०७२ सालको भूकम्पपीडितका लागिसेवा गरेवापत हङ्वान्जी बुद्धिस्ट सोसाइटी अफ नेपाललगायतका संस्थाबाट सम्मानित भएका छन्।
संगीतमा पुर्याएको योगदानका लागि नेपाली हिमालयन म्युजिक अवार्ड २०७२, १३औँ म्युजिक खबर म्युजिक अवार्ड २०२५ अन्तर्गत म्युजिक खबर संगीतकर्मी सम्मान, निम अवार्ड संगीतकर्मी सम्मान २०२५ लगायतका विभिन्न पुरस्कार तथा सम्मानबाट उनी पुरस्कृत एवं सम्मानित भइसकेका छन्।









प्रतिक्रिया दिनुहोस्