काठमाडाैं । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर २ चिसापानीमा पहिरो जाँदा बेपत्ता भएका थप १ जनाको शव भेटिएकाे छ ।
उक्त पहिराेमा ७० वर्षीय भीमबहादुर कार्कीको शव घरभन्दा झन्डै ५० मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । योसँगै पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४ पुगेको छ ।
यसअघि पहिरोमा परेर घाइते भएका भेरी नगरपालिका–२ का ५२ वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो । त्यस्तै पहिरोमा परेर बेपत्ता भएका ५४ वर्षीय ओमसिंह खत्री र उहाँकी आमा रती खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ ।
यस्तै पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका झन्डै ७० घरपरिवारका २०० जना स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारेको प्रहरीले जनाएको छ । विस्थापितहरुलाई अहिले रिसाङमा रहेको त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्