Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिंदै


78
Shares

काठमाडाैं । सुदूरपश्चिम प्रदेशसभाको बैठक बिहीबार साँझ ५ बजे बस्दैछ ।

बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले बताउनुभएकाे हाे। त्यस्तै, विगत लामो समयदेखि बैठकमा अनुपस्थित प्रदेशसभा सदस्यका विषयमा पनि छलफल हुने सम्भावित कार्यसूचीमा रहेको समेत उहाँकाे भनाइ छ।

नेकपा एमालेले गत असार ३१ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लाग्नुभएकाे हाे। संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत वा राजीनामा दिनुपर्ने प्रावधान अनुरुप उहाँले विश्वासको मत लिन लाग्नुभएकाे छ।मुख्यमन्त्री शाहले बुधबार सभामुख भीमबहादुर भण्डारीलाई विश्वासको मत लिने जानकारी गराउँदै प्रदेशसभा बैठक आह्वानका लागि पत्र पठाउनुभएकाे हाे ।

सुदूरपश्चिम प्रदेशसभामा ५३ जना सदस्य रहेका छन् । जसमध्ये मुख्यमन्त्री शाह नेतृत्वको नेपाली कांग्रेसबाट १८, नेपाली कम्युनिष्ट पार्टीबाट सभामुखसहित २२, एमालेबाट ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एकजना प्रदेशसभा सदस्य रहेका हुन् । सरकार गठन वा विश्वासको मतका पक्षमा २७ जना आवश्यक पर्छन् ।

हाल एक जना देश बाहिर र एकजना निलम्बनमा रहेको प्रदेशसभा सचिवालयले जनाएको हाे।