Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको माग


2.9k
Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग क्षतिपूर्तिको माग गर्नुभएकाे छ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’मार्फत यस्ताे माग गर्नुभएकाे हाे । उहाँले भविष्यमा हुने जुनसुकै वार्तामा यस विषयलाई समावेश गर्न आफ्ना प्रतिनिधिहरूलाई निर्देशन समेत दिनुभएको छ। विगत पाँच महिनाको सैन्य द्वन्द्वका क्रममा भएको क्षतिको बदलामा इरानले क्षतिपूर्ति मागिरहेको उल्लेख गर्नुभएकाे हाे ।

आफूले पनि इरानसँग क्षतिपूर्तिको माग गरेको बताउनुभयाे। इरानी पक्षको मागलाई रोचक विचारको संज्ञा दिँदै उहाँले सडक किनारमा गरिने बम विष्फोट र विभिन्न द्वन्द्वहरूमा परी मारिएका तथा गम्भीर घाइते भएका अमेरिकी नागरिकका लागि इरानले क्षतिपूर्ति तिर्नुपर्नेमा जाेड दिनुभएकाे छ।

राष्ट्रपति ट्रम्पले अर्को एक सन्देशमा लेबनान, सिरिया, यमन र गाजाका जनताले भोगेको क्षति र मृत्युका लागि समेत इरान नै जिम्मेवार हुनुपर्ने उल्लेख गर्नुभयो । यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोलगाद्रले संयुक्त राज्य अमेरिकाले आफ्नो व्यवहारमा सुधार नगरेसम्म रणनीतिक महत्वको हर्मुज जलडमरुमध्य नखोलिने बताउनुभएकाे छ।

इरानी सञ्चारमाध्यमका अनुसार जोलगाद्रले उक्त जलमार्ग पुनः सञ्चालनका लागि अमेरिकाले केही सर्तहरू पूरा गर्नुपर्ने बताएका छन् । जसमा इरान र यसका क्षेत्रीय सहयोगीहरू विरुद्धको युद्ध स्थायी रूपमा अन्त्य गर्नुपर्ने, इरानमाथिका धम्कीहरू बन्द गर्नुपर्ने, इरानी बन्दरगाहहरूको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, युद्धको क्षतिपूर्ति दिनुपर्ने र इरानमाथि लगाइएका प्रतिवन्धहरू हटाउँदै रोक्का गरिएका सम्पत्तिहरू बिनाशर्त फुकुवा गर्नुपर्ने मागहरू रहेका छन् ।