Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो


0
Shares

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको अवधिमा रु एक करोड २० लाख सात हजार बक्यौता उठाएको छ । शाखाले आर्थिक वर्ष २०८२/८३ मा ७७१ ग्राहकबाट उक्त बक्यौता उठाएको हो ।

प्राधिकरणको खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीका अनुसार सरकारी कार्यालयबाट मात्र रु चार लाखभन्दा बढी बक्यौता उठाएको छ । प्राधिकरणले सदरमुकाम खाँदबारी आसपास र चैनपुर बजार क्षेत्रमा तथा विभिन्न उद्योगबाट बक्यौता उठाएको हो । विद्युत् बक्यौता नतिर्नेमा हाइड्रोपावर, क्रसर उद्योग र सरकारी कार्यालयले विभिन्न उद्योगसमेत रहेका छन् । विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रले आव २०८१÷८२ मा रु ६६ लाख ७४ हजार बक्यौता उठाएको थियो ।

जिल्लामा ३१ हजार ५९० ग्राहक रहेको प्रमुख चौधरीले बताउनुभयो । विद्युत् चोरी जरिवाना, पुनःलाइन जडान र नयाँ ग्राहकबाट उक्त रकम सङ्कलन भएको हो । विद्युत् चोरी रोक्न कारबाहीसँगै सेवाग्राहीलाई विद्युत् चुहावट नगर्न सचेतना अभियान सञ्चालन गर्दै आइएको केन्द्रले जनाएको छ । जिल्लामा उत्पादित ४६ मेगावट विद्युत्मध्ये छ मेगावट मात्र खपत भएको उहाँले बताउनुभयो ।

सङ्खुवासभामा ८० प्रतिशत भूभागमा विद्युत् विस्तार भइसकेको छ । विद्युत् सेवा भरपर्दो बनाउन तुम्लिङटार र बानेश्वरमा २२० केभीको सवस्टेशन गत वर्षदेखि नै सञ्चालन भइसकेको वितरण केन्द्रले जनाएको छ । जिल्लाको सिलिचोङ, मकालु, भोटखोला र सभापोखरी गाउँपालिकाका केही वडामा विद्युत् सेवा विस्तार हुन बाँकी छ ।