काठमाडाैं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आदिवासी जनजातिको मौलिक ज्ञान, सीप र पहिचानलाई आधुनिक विकासको मोडलका रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
३२ औँ विश्व आदिवासी दिवसका अवसरमा आईतवार काठमाडौंमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यवाहक प्रमुख डंगोलले आदिवासी दिवसले समाजमा न्याय, समता र समावेशिता सुनिश्चित गर्दै अधिकार प्राप्तिको आन्दोलनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आदिवासी जनजाति र उनीहरूको ज्ञानलाई केवल इतिहास वा सङ्ग्रहालयको विषय मात्र नबनाई समुदाय विकासको जीवित आधार बनाउनुपर्ने बताउनुभयो । पहिचान र भाषाको सम्बन्धबारे चर्चा गर्दै उहाँले नेपालका ९० प्रतिशतभन्दा बढी भाषाहरू आदिवासी जनजाति समुदायकै रहेको उल्लेख गर्नुभयो । ‘भाषा बाँचे मात्र जाति र पहिचान बाँच्छ’ भन्ने मान्यतालाई स्मरण गर्दै उहाँले नयाँ पुस्तामा मातृभाषा हस्तान्तरण गर्नुपर्ने चुनौती र दायित्वबारे सचेत गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘आदिवासी जनजातिको परम्परागत ज्ञान शहर निर्माण, सिँचाइ, संस्कृति संरक्षण र जलवायु परिवर्तन जस्ता क्षेत्रमा अत्यन्तै उपयोगी छ । हाम्रा पूर्खाहरूले हामीलाई जमिन मात्र होइन, एउटा वैज्ञानिक जीवन पद्धति पनि सिकाएका छन् । हाम्रा चाडपर्व, खानपान र संस्कारहरू वैज्ञानिक तथ्यमा आधारित छन्, जसको उजागर र संरक्षण गर्नु अहिलेको आवश्यकता हो । आफ्नो लवज (टोन) र पहिचानमा हीनताबोध होइन, गर्व गर्नुपर्छ । हामीले आफ्ना छोराछोरी र नातिनातिनासँग घरमा मातृभाषा बोल्ने र संस्कार सिकाउने अभ्यासलाई तिब्रता दिनुपर्छ ।’
आधुनिकताका नाममा मातृभाषा बोल्न हिचकिचाउने प्रवृत्तिको आलोचना गर्नुभयो । कार्यवाहक प्रमुख डंगोलले अधिकारका कुरा गरिरहँदा आफ्नो संस्कृति र भाषाको पुस्तान्तरण गर्ने कर्तव्यलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्