रत्नप्रसाद आचार्य,सुनसरी । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले ४१८ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एउटा कार र एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।
सुनसरी बराहक्षेत्र नगरपालिका–९ स्थित बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
शनिबार बिहान ५ः३० बजे बराहक्षेत्रबाट चतरा आउँदै गरेको प्रदेश १–०२–००२ च ४६५१ नम्बरको कार र को ११ प ५६०९ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरिएको थियो। कारभित्र २२ वटा प्लास्टिकका पोकामा प्याक गरिएको अवस्थामा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको छ। बरामद गरिएको गाजा ४१८ किलो रहेको प्रहरीले जनाएको छ।
गाँजासहित प्रहरीले कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई, कारमा सवार ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ का २२ वर्षीया जिबनी राईलाई पक्राउ गरेको छ। यस्तै, मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलको पछाडि सवार सोही स्थानका २८ वर्षीय शंकर चौधरी पनि पक्राउ परेका छन्। पक्राउ परेका चारै जनालाई गाँजा, कार र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले बताए।
सुनसरीमा पछिल्लो समय ठूलो परिमाणमा गाँजा बरामद हुने क्रम बढेको छ। विशेषगरी कोशी प्रदेशका पहाडी जिल्लाबाट उत्पादन तथा संकलन गरिएको गाँजा सुनसरी हुँदै भारततर्फ तस्करी हुने गरेको प्रहरी अनुसन्धानबाट देखिँदै आएको छ।
धनकुटालगायत पहाडी क्षेत्रमा उत्पादन हुने गाँजा धरान, बराहक्षेत्रको चतरा, विष्णुपादुका तथा आसपासका क्षेत्र हुँदै विभिन्न माध्यमबाट सीमावर्ती क्षेत्रमा पुर्याउने गरेको प्रहरीको भनाइ छ। तस्करहरूले प्रहरीको निगरानी छल्न सवारीसाधन परिवर्तन गर्ने, गाँजालाई विभिन्न पोकामा प्याक गर्ने तथा स्थानीय सडक प्रयोग गर्ने गरेको प्रहरीको दाबी छ।
बराहक्षेत्र–चतरा सडकखण्डमा ठूलो परिमाणमा गाँजा बरामद हुनुले उक्त सडक लागूऔषध तस्करीका लागि प्रयोग भइरहेको संकेत गरेको छ। प्रहरीले पक्राउ परेकाहरूको बयान तथा उनीहरूको सम्पर्क र गाँजा कहाँबाट ल्याइएको तथा कहाँ लैजान लागिएको थियो भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले पछिल्लो समय लागूऔषध नियन्त्रणका लागि पहाडी क्षेत्रबाट तराई हुँदै भारततर्फ जाने सम्भावित नाकासहित सडकखण्डमा निगरानी बढाएको जनाएको छ।









प्रतिक्रिया दिनुहोस्