Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


केही प्रकारका गोलाबारुदको आपूर्तिमा कमी रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको स्वीकारोक्ति


156
Shares

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको समग्र गोलाबारुद भण्डार पर्याप्त भएपनि केही विशिष्ट प्रकारका हतियारहरूको आपूर्तिमा केही दबाब रहेको बताउनुभएको छ ।

बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘हामीसँग यस्ता केही प्रकारका हातहतियार छन् जुन निकै शक्तिशाली छन् र तिनको आपूर्ति लगभग असीमित छ । यद्यपि, केही अन्य प्रकारका हतियारको उपलब्धता भने थोरै कम छ, जसलाई हामीले दैनिक रूपमा आपूर्ति गरिरहेका छौँ ।’

इरानसँगको तनावका बीच अमेरिकी सेनाले आफ्नो प्रमुख क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका करिव ८० प्रतिशत इन्टरसेप्टर (प्रतिरोधी क्षेप्यास्त्र) प्रयोग गरिसकेको र सैन्य कमान्डरहरूले गोलाबारुदको भण्डार खतरनाक रूपमा न्युन भएको चेतावनी दिएको समाचार सार्वजनिक भएको दुई दिनपछि ट्रम्पको यो टिप्पणी आएको हो ।

यसैबीच, द वासिङ्टन पोस्टले गत साता क्याम्प डेभिडमा आयोजित शिखर सम्मेलनमा राष्ट्रपति ट्रम्प र रक्षामन्त्री पिट हेगसेथबीच अमेरिकी क्षेप्यास्त्र आपूर्तिको विषयलाई लिएर विवाद भएको उल्लेख गरेको थियो ।

स्रोतलाई उद्धृत गर्दै प्रकाशित उक्त समाचारमा क्षेप्यास्त्रको मौज्दात घट्दै गएकोमा चिन्ता व्यक्त गरिएको थियो ।तर राष्ट्रपति ट्रम्पले बिहीबार सामाजिक सञ्जालमार्फत उक्त समाचारको खण्डन गर्नुभएको छ । उहाँले ती दाबीहरूलाई झुटो र पूर्णतया निराधार हल्लाको संज्ञा दिनुभएको छ ।