काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रमा संरचनागत सुधारको प्रक्रिया अघि बढाएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारकाे बैठकमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले यस क्षेत्रको विद्यमान अवस्था, नीतिगत सुधार र आगामी योजनाकाे बारेमा जानकारी गराउनुभएकाे हाे । सचिव देवकोटाका अनुसार, सरकारले स्वास्थ्य क्षेत्रमा तीन महत्त्वपूर्ण नयाँ संरचना निर्माणलाई प्राथमिकतामा राखेको छ । यसमा रोग नियन्त्रण केन्द्र (सीडीसी मोडल), स्वास्थ्य प्रत्यायन प्राधिकरण (एक्रिडिटेसन अथोरिटी) र खाद्य तथा औषधि प्राधिकरण (एफडीए) छन् ।
मन्त्रालयले जनशक्ति व्यवस्थापनलाई अर्को मुख्य चुनौतीका रूपमा लिएको हाे । हाल नेपालभर स्वास्थ्यतर्फ ३५ हजार हाराहारीमा जनशक्ति कार्यरत छन् । आवश्यकता भने ९० हजार भन्दा बढीको रहेको सचिव देवकोटाले बताउनुभयाे । एक हजार ८ सय ८ ‘पुल दरबन्दी’को व्यवस्थापन दुई महिनाभित्रै सकाउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभएकाे छ ।
सचिव देवकोटाले थप ५ सयदेखि ६ सय नयाँ दरबन्दी थप्ने योजना रहेको उल्लेख गर्नुभयाे। तर, हरेक वर्ष एकतिहाइ मात्र पदपूर्ति गर्ने अर्थ मन्त्रालयको नीतिका कारण लक्षित जनशक्ति पुर्याउन समय लाग्ने उहाँको भनाइ छ । उहाँले दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीका निम्ति विशेष प्रोत्साहन र वृत्तिविकासका ‘प्याकेज’ ल्याउने तयारी भइरहेको समेत जानकारी दिनुभयाे ।









प्रतिक्रिया दिनुहोस्