Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


वागमती कोरिडोरको ‘बोटलनेक’ हटाउने क्रममा सेनासँग कुनै विवाद भएको छैनः सांसद पाण्डे


390
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले वागमती कोरिडोरको ‘बोटलनेक’ हटाउने क्रममा नेपाली सेनासँग कुनै प्रकारको विवाद वा दुव्र्यवहार नभएको दाबी गर्नुभएको छ ।

मंगलवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पाण्डेले स्थानीय जनताको वर्षौँदेखिको समस्या समाधान गर्न आफूले समन्वयकारी भुमिका मात्र निर्वाह गरेको दाबी गर्नुभएको हो ।

विगत १५–२० वर्षदेखि माकलवारी क्षेत्रमा रहेको वागमती कोरिडोरको अवरोध (बोटलनेक) हटाउन स्थानीय बासिन्दाले पटक–पटक माग गर्दै आएको उल्लेख गर्दै पाण्डेले सो सडक खुलाउन आफूले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति, उपत्यका नगर विकास प्राधिकरण र भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरेको जानकारी दिनुभयो ।

पाण्डेकाअनुसार सो जग्गा नेपाल ट्रष्टको भए पनि कोरिडोरको मापदण्डभित्र पर्ने भएकाले विकास निर्माणकै सिलसिलामा पर्खाल भत्काइएको हो । शुरुमा केही असमझदारी देखिए पनि पछि सेनाका महासेनानी (कर्णेल) गंगा बरालसँगको समन्वयमा दिनभर बसेर सडक खुलाउने कार्य सम्पन्न भएको उहाँले बताउनु भयो । उहाँले आफूले ‘क्याप्टेन साप’ भनेर सम्बोधन गरेको र कुनै पनि धम्की वा धाक नलगाएको स्पष्ट पार्नुभयो ।

सांसद पाण्डेले भने, ‘सडक खुलाउने क्रममा सूचना पुग्न केही मिनेट ढिलाइ भएका कारण नेपाली सेनाका एक क्याप्टेन कार्यस्थलमा आउनुभएको थियो । उहाँसँग सामान्य संवाद भएको हो, जसलाई सामाजिक सञ्जालमा अतिरञ्जित गरियो। मैले फौजी पृष्ठभूमिबाट आएको हुनाले सेनाको मर्यादा र वर्दीको सम्मान बुझेको छु । यो मेरो व्यक्तिगत विषय नभएर सार्वजनिक हितको काम हो ।

१५–२० वर्षदेखि रोकिएको काम सम्पन्न हुँदा स्थानीय जनता हर्षित छन् । म जनप्रतिनिधि भएका नाताले जनताको मुद्दा बोक्न डराउँदिन ।’ प्रधानमन्त्रीसँगको संवाद र माफी माग्ने प्रसङ्गबारे सोधिएको प्रश्नमा उहाँले सो विषयमा स्पष्ट जानकारी नदिए पनि आफूहरू सत्तापक्षको सांसद भएको नाताले नियमित सम्पर्कमा रहने बताउनु भयो । उहाँले केही तत्वहरूले विकासको कामलाई ओझेलमा पारेर संस्थागत द्वन्द्व निम्त्याउन खोजेको आरोप समेत लगाउनु भयो ।