काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले जाजरकोटका भूकम्पपीडितको पुनस्र्थापनाको कार्यलाई तिव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले सरकारले परिचालन गरेको जनशक्ति भूकम्पपछिको पुनर्निमाण कार्यका लागि पर्याप्त नरहेको भन्दै जनशक्ति थप्न समेत माग गर्नुभयो । उहाँले जाजरकोटका भूकम्पपीडितले अझै कति समय टहराभित्र बसिराख्ने हुन् ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले देशका विभिन्न स्थानमा ग्यास अभावका कारण नागरिकले सास्ती भोगिरहेको उल्लेख गर्दै आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन र समस्या समयमै समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो । सांसद विकले साइबर बुलिङका घटना बढ्दै गएको भन्दै सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रभावकारी नियमन गर्न समेत सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले सामाजिक सञ्जाल नियमन गर्न नसके साइबर बुलिङका कारण आत्महत्याजस्ता गम्भीर सामाजिक समस्या थप बढ्न सक्ने भन्दै सरकारले यस विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो,‘सम्मानीय सभामुख महोदय, जाजरकोटका भूकम्पपीडितले अझै कति समय टहराभित्र बसिराख्ने हुन् ? म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । पठाइएको जनशक्ति समेत पर्याप्त छैन । थप जनशक्ति पठाइयोस् । अर्कोतिर आज ग्याँस सकिएर नागरिक धेरै नै दुःखमा छन् । उहाँहरुको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा सरकारले समयमै ध्यान देओस् । अर्को, अहिले जसरी मानिसहरु साइबर बुलिङको शिकार भइराखेका छन्, यसलाई सरकारले कसरी नियन्त्रण गर्ने हो ? यदि सामाजिक सञ्जाललाई नियमन गर्न सकिएन भने धेरै मान्छेले आत्महत्या गर्ने वातावरण बढिराखेको छ । सरकारले सामाजिक सञ्जाल नियमन गर्ने कुरामा ध्यान देओस् ।’ सांसद विकले नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने समेत बताउनु भयो ।









प्रतिक्रिया दिनुहोस्