Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


गोठाटार आगलागी अपडेट: ठूलो मात्रमा भौतिक सम्पत्ति जलेर नष्ट, १४ सटरमा क्षति


390
Shares

काठमाडौं । काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा–५, गोठाटार पहेँलो पुल नजिकै शनिराति आगलागी हुँदा १४ वटा सटरमा क्षति पुगेको छ ।

स्थानीय रवीन्द्र भट्टराईले सञ्चालन गर्दै आएको काठको गोदाम र सटरहरूमा विद्युत सर्ट भई शनिबार राति आगलागी भएको हो । आगलागीको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानियवासी सुरक्षा टोली परिचालन भएका थिए । अगलागी नियन्त्रणका लागि करिब १ सय ७५ जना प्रहरी परिचालन गरिएको थियो । सुरक्षा निकाय, ९ वटा दमकल, ३ वटा पानी ट्यांकर र स्थानीयवासीको संयुक्त प्रयासमा शनिबार राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियाे।

आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९, गोठाटार बस्ने ३७ वर्षीय नरेश थापा घाइते भएका छन् । टहराको जस्ताबाट खसेर घाइते भएका थापाको नगर अस्पताल मूलपानीमा सामान्य उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ । आगलागीबाट १४ वटा विभिन्न व्यवसाय सञ्चालित सटरहरूमा क्षति पुगेको हाे ।

आगलागीका कारण व्यवसायीहरूको ठूलो भौतिक सम्पत्ति जलेर नष्ट भएको भए पनि कूल क्षतिको विस्तृत विवरण भने आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।