काठमाडाैं । नेपाली कांग्रेसले सुनसरीमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा आयोजित सर्वदलीय बैठकमा सरकारको भूमिकाप्रति असन्तुष्टि जनाएकाे छ।
सिंहदरबारमा बुधबार सम्पन्न बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संवेदनशील विषयमा सरकार गैरजिम्मेवार देखिएको आरोप लगाउनुभएको हो । नेता आङदेम्बेले सुनसरीको घटनालाई लिएर सरकारले देखाएको उदासीनता र बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङको अनुपस्थितिलाई लिएर प्रश्न उठाउनुभयो ।
नेता आङदेम्बेले राष्ट्रपति र प्रधानमन्त्रीबीच हुनुपर्ने आवश्यक संवाद र समन्वयको अभावले पनि राज्य सञ्चालनमा गम्भीर त्रुटी देखिएको टिप्पणी गर्नुभएकाे छ। उहाँले राष्ट्रिय महत्वका यस्ता विषयमा सम्बन्धित निकायहरूसँग समन्वय गरी समाधान खोज्नुको सट्टा सरकार हिचकिचाइरहेको दावी गर्नुभयो ।
नेता आङदेम्बेले बैठकमा सहभागी राजनीतिक दलहरूले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न तत्कालै संयुक्त पहल गर्ने निर्णय गरेकाे बताउनुभएकाे छ। राज्यको प्रतीक्षा नगरी दलहरू आफैँ फिल्डमा गएर शान्ति स्थापनाका लागि आह्वान गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्