Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


सुनसरीमा शान्ति सुरक्षा कायम गर्न सरकारसँग रवि लामिछानेको माग


559
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीसहित पूर्वी नेपालका विभिन्न जिल्लामा पछिल्लो समय विकसित भएको तनावपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति सुरक्षा कायम गर्न र आम नागरिकको जीउधनको रक्षा गर्न सरकारसँग आग्रह गरेका छन्।

मंगलबार जारी विज्ञप्तिमार्फत लामिछानेले सुनसरीलगायत पूर्वी जिल्लामा भएका संवेदनशील तथा दुःखद घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइते भएका सर्वसाधारण र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

विज्ञप्तिमा कुनै पनि असन्तुष्टि, विवाद वा समस्याको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै सबै पक्षलाई सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई कमजोर बनाउने गतिविधिबाट टाढा रहन आग्रह गरिएको छ। नागरिकलाई अफवाह र उत्तेजनाबाट प्रभावित नहुन तथा संयमता अपनाउन पनि अपिल गरिएको छ।

रास्वपाले वर्तमान संवेदनशील अवस्थालाई सामान्य बनाउन नेपाल सरकार तथा स्थानीय प्रशासनसँग निरन्तर समन्वय र सहजीकरण गरिरहेको जनाएको छ। पार्टीले तत्काल प्रभावकारी रूपमा शान्ति सुरक्षा कायम गर्न, नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा घटनाको स्वतन्त्र, निष्पक्ष र शीघ्र छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

त्यसैगरी, पीडित पक्षलाई उचित न्याय, क्षतिपूर्ति र निःशुल्क उपचारको व्यवस्था गर्न पनि विज्ञप्तिमार्फत सरकारसँग आग्रह गरिएको छ। रास्वपाले आफू शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा दृढ रहेको दोहोर्याउँदै संवाद र सहमतिमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।

पार्टीले घटनालाई राजनीतिकरण नगर्न सबै राजनीतिक दल, सरोकारवाला निकाय तथा सम्बन्धित पक्षसँग आग्रह गर्दै आफ्ना स्थानीय समिति र कार्यकर्तालाई पनि शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिएको जनाएको छ।

Skip This