Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


निर्वाचन प्रणालीलाई प्रविधिमैत्री बनाउनुको विकल्प छैनः सांसद ढुंगाना


78
Shares

काठमाडौं ।
नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले निर्वाचन प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

संसदीय सुनुवाई समितिको मंगलबारको बैठकमा प्रस्तावित निर्वाचन आयुक्त डा। राजीव सुब्बाको सुनुवाईका क्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो ।

सांसद ढुंगानाले डा. सुब्बाद्वारा प्रश्तुत कार्ययोजना र प्रश्तुतिको प्रशंसा गर्दै आधुनिक युगमा पुरानो शैलीबाट राज्य सञ्चालन र लोकतन्त्रको रक्षा सम्भव नभएको बताउनु भयो । उहाँले आगामी स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचनलाई लक्षित गरी प्रविधिको उच्चतम प्रयोग हुनुपर्ने उल्लेख गर्नुभयो । देशमा विद्यमान गरिबी र अशिक्षाका बाबजुद पनि प्रविधि अङ्गीकार गर्न कठिनाइ नहुने तर्क गर्दै उहाँले प्रविधिका बारेमा जनमानसमा रहेका भ्रमहरू चिर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मतदान प्रक्रियाका बारेमा जनतालाई भ्रममा पार्ने गलत भाष्यलाई आधुनिक प्रविधिमार्फत नै निरुत्साहित गर्नुपर्छ । यदि प्रविधिमा भनिएजस्तो धाँधली हुने भए अन्य देशका शक्तिसाली नेताहरूले सधैँ प्रविधिकै दुरुपयोग गरेर चुनाव जितिरहने थिए ।’
सांसद ढुंगानाले प्रविधिमैत्री निर्वाचनका लागि आवश्यक कानूनी पूर्वाधार तयार गर्न सरकारलाई सुझाव दिनुभयो । यसअघि निर्माण गरिएका राजनीतिक दल सम्बन्धी ऐन र मतदाता नामावली ऐन लगायतका कानूनहरू पर्याप्त नभएको उल्लेख गर्दै उहाँले प्रविधि अनुकूल हुनेगरी नयाँ ऐन कानुनहरू ल्याउनुपर्नेमा जोड दिनुभयो । प्रश्तावित निर्वाचन आयुक्तको कार्ययोजनालाई व्यवहारमा उतार्न र निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा प्रविधिमैत्री बनाउन सरकारले आवश्यक व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ ।

Skip This