सञ्जय कार्की, रौतहट । रौतहटको गौर भन्सार कार्यालय नजिक नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले स्रोत नखुलेको ठूलो रकमसहि एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार शुक्रबार साँझ गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय परिसरमा चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको सार्वजनिक अटो रिक्सामा सवार भारतको बिहार राज्य, सितामढी जिल्ला बैरगनिया निवासी ६२ वर्षीय राजेन्द्र प्रसाद जयसवाल पक्राउ परेका हुन् ।
उनको शरीर खानतलासीका क्रममा खुट्टामा लगाएको मोजाभित्र लुकाइछिपाई राखेको स्रोत नखुलेको नेपाली ५ लाख ५० हजार रुपैयाँ तथा भिभो कम्पनीको एक थान मोबाइल फोन सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बरामद रकममध्ये १ हजार दरका ४९५ थान र ५ सय दरका ११० थान नोट गरी जम्मा ५ लाख ५० हजार रुपैयाँ रहेको छ। साथै भारतीय ४ हजार ८० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका जयसवालले यसअघि पनि निश्चित रकम लिएर ‘भरिया’का रूपमा नेपालतर्फ रकम ल्याउने गरेको खुलाएको प्रहरीको दाबी छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त गौतमले बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्