काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट साउन १ गते (शुक्रबार) देखि कार्यान्वयनमा आएको छ।
नयाँ आर्थिक वर्ष २०८३/८४ शुक्रबारदेखि शुरु भएसँगै बजेट कार्यान्वयनमा आएकाे हाे। सरकारले चालू आर्थिक वर्षका लागि कूल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै बजेटको आकार सार्वजनिक गर्नुभएकाे थियाे।
कूल बजेटमध्ये चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ अर्थात् ५९ दशमलव ८ प्रतिशत विनियोजन गरिएको छ। त्यस्तै, पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ (२० दशमलव ३ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ (१९ दशमलव ९ प्रतिशत) छुट्याइएको छ। बजेटका लागि सरकारले राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ जुटाउने लक्ष्य राखेको छ।
वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको हाे। वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब रुपैयाँ जुटाइनेछ। साथै बाँकी ४ खर्ब १९ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट व्यवस्थापन गरिने सरकारको योजना रहेकाे छ।
गत आर्थिक वर्ष २०८२/८३ मा सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो।









प्रतिक्रिया दिनुहोस्