Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


चालु आर्थिक वर्षकाे आज अन्तिम दिन: १२ खर्ब २४ अर्ब ८० करोड ९० लाख राजश्व संकलन

गत वर्षकाे भन्दा ७ दशमलव ४ प्रतिशतले वृद्धि

26
Shares

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक दिन मात्रै बाँकी रहँदा कूल लक्ष्यको करिब ८३ प्रतिशत राजश्व संकलन गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयले बुधबासम्ममा सरकारले कूल १२ खर्ब २४ अर्ब ८० करोड ९० लाख रुपैयाँ राजस्व उठाएको जनाएकाे हो । यो संकलन सरकारले चालु वर्षका लागि तय गरेको कुल १४ खर्ब ८० अर्ब रुपैयाँको वार्षिक लक्ष्यको ८२ दशमलव ७६ प्रतिशत हुन आउँछ । विगतको तुलनामा यस वर्ष राजश्व संकलनमा सुधार देखिएको हाे । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्ष २०८१/८२ को असार ३१ गतेसम्म सरकारले ११ खर्ब ४० अर्ब ३६ करोड ६१ लाख रुपैयाँ मात्र राजश्व संकलन गर्न सकेको थियो ।

यस हिसाबले गत वर्षको सोही अवधिको तुलनामा यसपालि राजस्व संकलन ७ दशमलव ४० प्रतिशत अर्थात ८४ अर्ब ४४ करोड २९ लाख रुपैयाँले वृद्धि भएको नियन्त्रक कार्यालयले जनाएको हाे । प्राप्त कुल राजस्व मध्ये सबै भन्दा ठूलो हिस्सा कर राजस्वको रहेको छ । बुधबारसम्म ११ खर्ब ५ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ कर राजस्व संकलन भएको छ । जुन लक्ष्यको ८३ दशमलव ४३ प्रतिशत हो ।

त्यस्तै, गैरकर राजस्वतर्फ १ खर्ब १८ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यो कूल गैरकर राजस्व लक्ष्यको ७६ दशमलव ९९ प्रतिशत हो । गत वर्षको तुलनामा यस वर्ष कर राजस्व ७ दशमलव ३४ प्रतिशत र गैरकर राजस्व ८ दशमलव ०२ प्रतिशतले बढेको देखिन्छ ।

त्यसैगरी अनुदान प्राप्तिको अवस्थामा पनि यस वर्ष उल्लेख्य सुधार आएको छ । चालु वर्षमा सरकारले कुल ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा असार ३१ गतेसम्म ५८दशमलव ५ प्रतिशत अर्थात् ३१ अर्ब २६ करोड ४१ लाख रुपैयाँ प्राप्त भएको छ । यो गत वर्षको तुलनामा ३४ दशमलव ७५ प्रतिशतले बढी हो । गत वर्ष यसै अवधिसम्म सरकारले जम्मा २३ अर्ब २० करोड १६ लाख रुपैयाँ अनुदान प्राप्त गरेको थियो ।

आर्थिक वर्षको अन्तिमतिर राजश्व संकलन तिब्र हुने परम्पराअनुसार बुधबार एकै दिन मात्रै सरकारले २१ अर्ब १६ करोड ९२ लाख रुपैयाँ राजश्व उठाएको छ । जसमा १८ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ कर राजश्व रहेको हाे । बिहीबार आर्थिक वर्षको अन्तिम दिन भएकाले थप राजश्व संकलन भई कूल संकलनको दर अझै बढ्ने अनुमान गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।