काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा सदस्यहरूलाई जनताको घरदैलोमा पुगेर उनीहरूका आवाज र अपेक्षा बुझ्न आग्रह गर्नुभएको छ ।
बुधवारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै सभामुख अर्यालले संसद र जनताबीचको सम्बन्ध जति सुदृढ हुन्छ, लोकतन्त्र त्यति नै उत्तरदायी र विश्वसनीय हुने बताउनुभयो । सभामुख अर्यालले संसदले आर्थिक वर्ष २०८३-८४ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रमसहित विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेको जानकारी दिनुभयो ।
नयाँ गठन भएको प्रतिनिधि सभाको यस अधिवेशनमा सदस्यहरूले निर्वाह गरेको भुमिकाको प्रशंसा गर्दै उहाँले आगामी बैठकहरूमा अझ बढी सक्रियताको अपेक्षा व्यक्त गर्नुभयो । आर्थिक वर्ष २०८२/८३ को अन्त्यतिर आइपुगेको सन्दर्भ जोड्दै सभामुख अर्यालले भन्नुभयो, ‘राज्यका नीति, कार्यक्रम र सेवा प्रवाहप्रति जनस्तरको प्रतिक्रिया र सुझाव बुझ्ने प्राथमिक दायित्व प्रतिनिधि सभा सदस्यहरूको हो ।
जनताका आवाज र आकाङ्क्षालाई संसदको निर्णय प्रक्रियासम्म पु¥याउने र संसद्का निर्णयलाई पुनः जनतामाझ स्थापित गर्ने दुईतर्फी दायित्व नै जनप्रतिनिधित्वको सार हो ।’ सभामुख अर्यालले संविधानले परिकल्पना गरेको सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो ।
तीनवटै तहबीचको विकास, कानुन निर्माण र सार्वजनिक सेवा प्रवाहलाई थप सुमधुर बनाउन तथा स्थानीय तहका जटिलतालाई सङ्घीय तहसम्म जोड्न सांसदहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । सरकारले आगामी आर्थिक वर्षलाई ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा गरेको सन्दर्भमा प्रचलित कानुनको पुनरावलोकन, संशोधन, एकीकरण र नयाँ कानून निर्माणमा संसदको सक्रिय भूमिका रहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सांसदहरूले जनताका माझबाट सङ्कलन गरेका विषयहरू सदनमा प्रवेश गर्दा सरकारलाई थप जवाफदेही बनाउन सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो । संसदीय बैठकको विश्रामलाई जनतासँगको विमर्शमा रूपान्तरण गर्न शुभकामना दिँदै प्रतिनिधि सभाको अर्को बैठक साउन १४ गते बिहीवार बस्नेछ ।









प्रतिक्रिया दिनुहोस्