Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


श्रम निरीक्षण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि (नं. ८१) प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन


91
Shares

काठमाडाैं । प्रतिनिधि सभाले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१) लाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको उक्त महासन्धिलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो । महासन्धि अनुमोदनका लागि प्रस्तुत गर्नुअघि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री यादवले यस ऐतिहासिक दस्तावेजको अनुमोदनले नेपालको श्रम निरीक्षण प्रणालीलाई थप व्यवस्थित बनाउने बताउनुभयो ।

उहाँले यसबाट श्रमिकहरूको अधिकार संरक्षणमा टेवा पुग्नुका साथै विद्यमान श्रम प्रणाली थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री यादवले महासन्धि पारित भएपश्चात यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरिने प्रतिबद्धता समेत जनाउनुभयो ।

सदनमा मन्त्री यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१) लाई अनुमोदन गरियोस्’ भनी प्रश्ताव प्रश्तुत गर्नुभएको थियो ।

उक्त प्रश्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा विपक्षमा कुनैपनि मत नपरेपछि महासन्धि सर्वसम्मतिले पारित भएको घोषणा गरिएको हो । बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ लाई अनुमोदन गरिएको छ।