Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


उपत्यकामा रहेका अस्तव्यस्त तार हटाउने तयारी


39
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुन्डिएका विद्युत्, दूरसञ्चार तथा इन्टरनेट लगायतका तार व्यवस्थापनलाई निश्चित समयसीमाभित्र टुंग्याउने भएको छ ।

उपत्यकाको अव्यवस्थित तार व्यवस्थापनका लागि गठित उपसमितिले विद्युत् पूर्वाधार प्रयोग भएका ६ वटा प्राथमिक रुटमा काम अघि बढाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाको उपस्थितिमा बुधबार ऊर्जा मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले सम्बन्धित सबै निकायलाई समयसीमाभित्र अव्यवस्थित तार हटाउने कार्य सम्पन्न गर्न निर्देशन दिनुभएकाे छ ।

गएको जेठ २८ गते सार्वजनिक सूचना जारी गरी सेवा प्रदायकलाई प्रयोगविहीन तार हटाउन निर्देशन दिइएको थियो । हाल पुरानो बानेश्वर–गौशाला–चाबहिल क्षेत्रमा तार व्यवस्थापन भइरहेको छ । काठमाडौं महानगरपालिकाले प्राथमिकता दिएका अन्य स्थानमा पनि काम अघि बढेको जनाइएको छ ।

नेपाल विद्युत् प्राधिकरणले आफ्नो स्वामित्वका अनावश्यक तार धेरै स्थानबाट हटाइसकेको छ । तर, पोलमा विभिन्न सेवा प्रदायकहरूले जडान गरेका केबलको स्वामित्व नै पहिचान गर्न कठिन भइरहेको जनाएको छ । नयाँ केबल जडान गरेपछि पुराना केबल नहटाउने प्रवृत्तिका कारण व्यवस्थापन जटिल बन्दै गएको प्राधिकरणको भनाइ छ । साथै, केही सेवा प्रदायकले पोल भाडा समेत नियमित रूपमा नतिरेको विषय पनि उठाइएको थियो ।

आईस्पानका अध्यक्ष सुधीर पराजुलीले दोषारोपभन्दा समाधानमुखी सहकार्य आवश्यक रहेकाे बताउनुभयाे । उहाँले धेरै स्थानमा कुन केबल कुन सेवा प्रदायकको हो भन्ने नै स्पष्ट नभएकाले पहिचान (ट्यागिङ) कार्यलाई प्राथमिकता दिनुपर्ने बताउनुभयाे ।

नेपाल टेलिकमले दुईवटा रुटमा ट्यागिङ तथा व्यवस्थापनको काम भइरहेको जानकारी दिएको छ । थप जनशक्ति परिचालन गरेर एक महिनाभित्र कामको गति दोब्बर बनाइने जनाएको छ । बैठकले अब अव्यवस्थित तार व्यवस्थापनलाई केवल सरसफाइ अभियानका रूपमा नभई सहरी सौन्दर्य, नागरिक सुरक्षा, दूरसञ्चार पूर्वाधारको दीर्घकालीन व्यवस्थापन र अन्तर निकाय समन्वय सुधारसँग जोडिएको राष्ट्रिय अभियानका रूपमा अगाडि बढाउने निष्कर्ष निकालेको छ ।

बैठकमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, एनसेल तथा इन्टरनेट सेवा प्रदायकको छाता संस्था (आईस्पान)का प्रतिनिधि सहभागी थिए । छलफलले कार्यक्षेत्र विभाजन, समयसीमा र संयुक्त कार्ययोजनासहित अव्यवस्थित तार व्यवस्थापन अभियानलाई तीव्रता दिने निर्णय गरेको छ ।

बैठकमा ऊर्जामन्त्री श्रेष्ठले अव्यवस्थित तार व्यवस्थापन कुनै एक संस्थाले मात्र समाधान गर्न नसक्ने विषय भएकाले सबै निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताउनुभयाे । उहाले जिम्मेवारी स्पष्ट गरी पाइलट परियोजनाका रूपमा निश्चित क्षेत्रबाट काम सुरु गर्न, समयसीमाभित्र नतिजा दिन र मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने कानुनी सुधारलाई समेत अगाडि बढाइरहेको जानकारी दिनुभयाे ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तिमिल्सिनाले यसअघि जारी गरिएको निर्देशन अपेक्षित रूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयाे । अब समीक्षा मात्र होइन, प्रत्यक्ष नतिजा देखिने गरी काम गर्नुपर्ने उहाँको भनाइ छ । प्रयोगमा नरहेका केबल तत्काल हटाउन, काममा देखिएका अवरोध सम्बन्धित मन्त्रालय र निकायलाई तत्काल जानकारी गराउन तथा प्रतिबद्धताअनुसार तार व्यवस्थापन सम्पन्न गर्न उनले निर्देशन दिनुभयाे ।