Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणलाई २ वर्ष कैद सजाय


585
Shares

काठमाडाैं । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ ।

आज मंगलबार जिल्ला अदालत काठमाडौंले खाणलाई २ वर्ष कैद र २० हजार जरिबाना तोकिएको हो ।

यसअघि २०८० मंसिर २८ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कांग्रेस नेता खाण उच्च अदालतको आदेशमा रिहा भएका थिए ।

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाख रुपैंया धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएका थिए। त्यसयता उनी थुनामुक्त भएर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए।

तर गत २३ असारमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र कांग्रेस नेता तथा पूर्व गृहमन्त्री खाण यस प्रकरणमा दोषी ठहर भएका थिए । उनीहरूले राज्यविरुद्धको कसुर गरेको जिल्ला अदालत काठमाडौंले फैसला गरेको थियो। तर सजाय निर्धारण बाँकी थियो ।

त्यस्तै पूर्व गृहसचिव टेक नारायण पाण्डे, कांग्रेस नेतृ सुजाता कोइरालाका तत्कालीन स्वकीय केशव प्रसाद दुलाल पनि राज्य विरुद्धको कसुरमा दोषी ठहर भएका थिए।

त्यसैगरी, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा इन्द्रजीत राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी, आङटावा शेर्पाले पनि शरणार्थी प्रकरणमा राज्य विरुद्धको कसूर तथा एकीकृत कसुर गरेको जिल्ला अदालतको फैसलामा उल्लेख थियो।

उनीहरूले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी राज्य विरुद्धको कसुर गरेको ठहर भएको थियो।त्यसैगरी शरणार्थी नेता टेकनाथ रिजाल पनि दोषि ठहर भएका थिए।

त्यसैगरी, उक्त प्रकरणमा प्रतिवादी बनाइएका नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेलले राज्य विरुद्धको कसुरमा मतियार रहेको अदालतको फैसलामा उल्लेख थियो। सोही कसुरमा टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिँया, हरिभक्त महर्जन, निरन्जन कुमार खरेललाई पनि मतियारको रुपमा दोषी ठहर गरेको थियो ।