Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


काठमाडौं महानगरले खाद्य प्रयोगशाला सञ्चालनमा ल्यायो


130
Shares

काठमाडाैं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षा तथा गुणस्तर परीक्षणलाई प्रभावकारी बनाउन माइक्रोबायोलोजी प्रयोगशाला (ल्याव) सञ्चालनमा ल्याएको छ ।

काठमाडौं प्लाजामा स्थापना गरेको ल्यावको बुधवारबाट सञ्चालनमा ल्याइएको हो । काठमाडौं महानगरपालिकी कार्यवाहक प्रमुख सुनिता ढंगालले एक कार्यक्रमका बीच ल्याव सञ्चालनको सुभारम्भ गर्नुभएको थियो ।

महानगरले आफ्नै प्रयोगशाला स्थापना गरेसँगै खाद्य नमुनाको परीक्षण छिटो हुने र बजार अनुगमनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने कार्यवाहक प्रमुख ढंगोलले बताउनुभयो ।

उहाँले ल्याव नहुँदा बजार अनुगमनका क्रममा खाद्य वस्तुहरूको प्रयोगशाला परीक्षणमा समस्या भोग्नुपरेपछि आफैले ल्याव सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । यसअघि आफ्नै ल्याव नहुँदा परीक्षण प्रतिवेदन आउन ढिलाइ हुँदा अनुुगमन प्रभावकारी हुन नसकेको उहाँको भनाई छ । आफ्नै प्रयोगशालाबाट प्रारम्भिक परीक्षण गर्न सकिने भएकाले अनुगमनलाई तिब्र र प्रभावकारी बनाउन सहज हुने उहाँले बताउनुभयो ।

महानगरले यसअघि सञ्चालनमा ल्याएको मोबाइल ल्याबलाई पनि नयाँ प्रयोगशालाले थप सहयोग गर्ने उल्लेख गर्नुभयो । स्वस्थ खाद्य वस्तु नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले महानगरले खाद्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाले धेरै पहिलेदेखि नै माईक्रो वायोलजी ल्याव स्थापना गर्ने प्रयास गरेका थियौँ, यो आज स्थापना गरेका छौँ । हामीले बजार अनुगमनलाई निरन्तरता दिएका छौँ, अनुगमनको क्रममा धेरै समस्याहरु देखिने गरेका छन् । अनुगमनको क्रममा कतिपय वस्तुहरुको ल्याव टेस्टमा पठाउनुपर्ने हुन्छ, कतिपयमा दण्ड जरिवाना पनि गर्नुपर्ने हुन्छ । त्यसको लागि हामीलाई ल्याव टेस्टको जरुरी थियो, आफ्नै ल्याव टेस्ट नहुँदा अरुकोमा भर पर्दाखेरी परीक्षण रिपोर्ट आउन लामो समय लाग्ने भईरहेको थियो । अब ल्याव स्थापना भएसँगै केही परिक्षण हामीले यहीबाट गर्नसक्छौँ । यो शुरुवात हो, यसलाई हामीले विस्तार गर्दै जानेछौँ । साथै महानगरले यसअगाडी मोवाईल भ्यान ल्यावको पनि शुरुवात गरेका छोँ । त्यसलाई यो ल्यावले अझ सहयोग गर्नेछ । हाम्रो खानेकुरा स्वस्थ भएमा हामी स्वस्थ हुने हो, यसलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ । हामी बजार अनुगमनमा जाँदा नमुना परिक्षणको लागी आफ्नै ल्याव हुँदा धेरै सहज हुनेछ, यसले अनुगमनलाई तिव्रता दिन सहज बनाउने र अनुगमन प्रभावकारी पनि बनाउने छ । महानगरपालिकाले दण्ड जरिवाना मात्रै गर्दैन, हामीले व्यवासायीहरुलाई खाद्य सुरक्षाको बारेमा पनि जानकारी दिनेछौँ । हामीले फुड सेफ्टी बुट क्याम्प पनि गर्ने गरेका छोँ, हालसम्म ३ हजार भन्दा बढी व्यवसायीहरुलाई फुड सेफ्टी बुट क्याम्पमा राखेर खाद्य सुरक्षाको बारेमा जानकारी गराएका छौँ ।’

काठमाडौं महानगरपालिकाकी सल्लाहकार तथा खाद्य स्वच्छता विज्ञ जीवनप्रभा लामाले स्थानीय तहको स्तरमा खाद्य प्रयोगशाला स्थापना हुनु ऐतिहासिक कदम भएको बताउनुभयो । खाद्य प्रणालीलाई प्रभावकारी बनाउन कानून, व्यवस्थापन, प्रयोगशाला, खाद्य निरीक्षण र व्यवसायीलाई खाद्य शिक्षाको व्यवस्था अनिवार्य हुने उल्लेख गर्दै उहाँले काठमाडौं महानगरले यी सबै पक्षलाई प्राथमिकताका साथ अघि बढाएको बताउनु भयो । उहाँका अनुसार नयाँ प्रयोगशालाले खाद्य परीक्षणलाई वैज्ञानिक र छिटो बनाउने मात्र नभई उपभोक्ताको स्वास्थ्य संरक्षणमा समेत महत्वपूर्ण योगदान पु¥याउनेछ । साथै, यसबाट अन्य स्थानीय तहलाई पनि खाद्य सुरक्षा प्रणाली सुदृढ गर्न प्रेरणा मिल्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘महानगरपालिकाले ऐतिहासिक काम शुरु गरेको छ । स्थानिय तहहरुले हालसम्म खाद्य प्रयोगशालाको स्थापना र अनुगमन गर्ने गरेका छैनन् । तर काठमाडौं महानगरले यहाँ बस्ने उद्यमीलाई सहयोग गर्ने र उपभोक्ताहरुको स्वास्थ्य संवद्र्धन गर्नको लागी पहिलेदेखी नै केही शुरुवात गर्दै थियो, हाल यो प्रयोगशाला स्थापना गरेर एउटा माईलस्टोन शुरु गरेको छ, यसलाई अनुशरण गरेर अन्य स्थानिय तहले पनि यो काम गर्नुहुन्छ भन्ने लागेको छ । खाद्य प्रणालीमा पाँच वटा कुरा मुख्य मानिन्छ । पहिलो, यो संग सम्बन्धित ऐन कानून हुनुपर्छ, व्यवस्थापन हुनुपछ, प्रयोगशाला हुनुपर्छ र खाद्य निरीक्षण हुनुपर्छ । पाँचौमा उद्योगी व्यवसायीहरुलाई खाद्य सम्बन्धि शिक्षा दिनुपर्छ । यो पाँच वटै कुरालाई काठमाडौं महानगरले अपनाउँदै आएको छ । प्रयोगशाला स्थापनाले काठमाडौका नागरिकको स्वास्थ्य संबर्दन गर्नेछ ।’

महानगरले बजार अनुगमनका क्रममा दण्ड–जरिवानामा मात्र नभई व्यवसायीलाई खाद्य सुरक्षाबारे सचेतना प्रदान गर्ने गरेको जनाएको छ । महानगरले ‘फुड सेफ्टी बुट क्याम्प’मार्फत हालसम्म तीन हजारभन्दा बढी व्यवसायीलाई खाद्य सुरक्षासम्बन्धी तालिम प्रदान गरिएको जानकारी दिएको छ ।