अर्जुन बोहरा, डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आइतबार दिउँसो करिब १:५० बजे जगदुल्ला गाउँपालिका–५ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप आफैं अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा परी जिपमा सवार त्रिपुरासुन्दरी नगरपालिका–८ निवासी ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिपमा चालकसहित १४ जना सवार रहेको प्रारम्भिक जानकारी अनुसार चालकसहित अन्य १३ जना घाइते भएका छन्।
घाइतेहरूको उद्धार गरी उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। उद्धारका लागि चन्दननाथ नगरपालिकाबाट एम्बुलेन्स घटनास्थलतर्फ पठाइएको छ। दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्