काठमाडौं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा सङ्कुचन आएको आरोप लगाउनुभएकाे छ ।
ललितपुरमा आइतबार महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारबाट अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित गरिएको आरोप लगाउनुभएकाे हाे। उहाँले संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको भएपनि नयाँ सरकार बनेको सय दिनमा सरकारबाटै सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन नसकेको टिप्पणी गर्नुभयाे ।
पत्रकारहरूको सूचनामा पहुँच सीमित भएको उहाँको आरोप छ । सिंहदरबारमा मन्त्रालयसम्म पत्रकार पुग्ने सामर्थ्य भएपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेटसम्म पनि पत्रकारहरू जान नपाउने अवस्था रहेको जिकिर गर्नुभयाे। संसदीय समितिहरूमा पनि पत्रकारहरू सहज रूपमा प्रवेश गर्नसक्ने अवस्था नरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएकाे छ। अध्यक्ष शर्माले सरकारले आर्थिक केन्द्रबाट प्रेसलाई नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाउनुभयाे।
अध्यक्ष शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अन्तर्गत सूचना माग्ने, सूचना प्राप्त गर्ने तथा तथ्यको परीक्षण र यकिन गरेर मात्रै समाचार वा सामग्री प्रकाशन तथा प्रसारण गर्ने अधिकार परे पनि सरकार संविधान अनुसार प्रेस स्वतन्त्रताको पक्षमा नदेखिएको बताउनुभएकाे छ ।









प्रतिक्रिया दिनुहोस्