Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


मन्दिर निर्माणमा भ्रष्टाचार गरेको आरोपमा गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा


286
Shares

काठमाडाैं । मन्दिर निर्माणका नाममा भ्रष्टाचार गरेको अभियोगमा नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको छबिसपाथिभेरा गाउँपालिकामा बाँठपाली देवताको मन्दिर स्थापना गर्ने नाउँमा भ्रष्टाचार गरेको अभियोगमा दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डलसहित नौजनाविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारको अभियोगपत्रमा गाउँपालिकाका लेखापाल प्रेमप्रसाद पौडेल, इन्जिनियर हिक्मत रावल र सब–इन्जिनियर बमबहादुर बोहरालाई पनि कसुरदार किटान गरिएको छ । बाँठपाली देवता मन्दिर निर्माणका क्रममा वास्तविक भएको कामभन्दा झुटो बिल भरपाई तयार गरी बढी रकम भुक्तानी लिइएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

भ्रष्टाचारमा संलग्न रहेको आरोपमा छबिसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतला, सोही गाउँपालिकाको वडा नं. ६ का वडा अध्यक्ष मोहन लाल विक, मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुली देवी बुढालाई पनि सजायका लागि प्रतिवादी बनाइएको छ ।

बाँठपाली देवता मन्दिर स्थापनाका नाममा २२ लाख १ हजार ६६५ रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदाबी गरिएको छ ।

अख्तियारको अनुसन्धानले आर्थिक वर्ष २०७५/७६ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विनियोजित बजेटमार्फत मन्दिर निर्माण गर्दा भ्रष्टाचार भएको देखाएको छ ।