काठमाडौं । सहआयोजक क्यानाडा फिफा विश्वकप फुटबल २०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाकाे लस एन्जलस रंगशालामा साेमबार बिहानभएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गाेलले पराजित गर्दै क्यानाडा प्रिक्वार्टरफाइनल अर्थात अन्तिम–१६ मा प्रवेश गरेको हो । क्यानाडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरेका थिए । खेलको ९० मिनेटसम्म कुनै पनि गोल नभएको अवस्थामा दोस्रो हाफको इन्जुरी समयमा स्टेफेनले गोल गर्दै क्यानाडालाई पहिलो पटक प्रिक्वार्टरफाइलनमा पुर्याएका हुन् ।
खेलभर बल पोजिसनमा दक्षिण अफ्रिका अघि रहेपनि गोल भने गर्न सकेन । दक्षिण अफ्रिका फिनिसिङमा चुक्न पुग्यो । निर्णायक गोल गर्ने स्टेफेन नै प्लेयर अफ द म्याच घोषित भए । तेस्रो पटक विश्वकप खेलिरहेको क्यानडा यसअघि दुई पटक नै समूह चरणबाट बाहिरिएको थियो । क्यानाडासँग पराजित भएसँगै पहिलो पटक दक्षिण अफ्रिकाले प्रिक्वार्टरफाइनल पुग्ने अवसर गुमाएको छ ।
क्यानाडा समूह ‘बी’ दोस्रो भएर नकआउट चरणमा पुग्दा दक्षिण अफ्रिका समूह ‘ए’ बाट उपविजेता बन्द नकआउट चरणमा पुगेको थियो । प्रिक्वार्टरफाइनलमा क्यानाडाले अब मोरक्को र नेदरल्यान्ड्सको विजेतासँग खेल्ने भएका छन् ।









प्रतिक्रिया दिनुहोस्