काठमाडौं, असोज १२ । चीन भ्रमणमा रहेका गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गन्डकी प्रदेशमा लगानी गर्न चिनियाँहरुलाई आह्वान गरेका छन् ।
हाइनान प्रान्तका गभर्नरको निमन्त्रणमा चीन गएका मुख्यमन्त्री गुरुङले हाइनान प्रान्तका पर्यटन, नागरिक उड्यन, जलस्रोत, ऊर्जा, सौर्यऊर्जा र औषधि व्यवसायीका प्रतिनिधिमन्डलसँगको भेटमा लगानी गर्न आह्वान गरेका हुन् ।
त्यसक्रममा उनले गन्डकी प्रदेशका प्राथमिकता र दुईपक्षीय सहयोगका विषयमासमेत छलफल गरेको जनाइएको छ ।
मुख्यमन्त्री गुरुङले हाइनान प्रान्तका गभर्नर डा. सेनसँग पनि भेटवार्ता गरेका छन् ।
भेटमा गन्डकी प्रदेशको विकासको सम्भावना, भावी योजना र सहयोगका क्षेत्रबारे छलफल भएको थियो ।
मुख्यमन्त्री गुरुङले गन्डकी प्रदेशका विभिन्न क्षेत्रमा भइरहेका विकासका काम र भावी योजनाबारेसमेत जानकारी गराएका थिए ।
उनले गन्डकी प्रदेश र हाइनान प्राप्तबीचको सम्बन्धलाई थप सुदृढ तुल्याएर विकास र लगानीका क्षेत्र पहिल्याउन दुईपक्षीय प्रतिनिधिमन्डलका भ्रमणका कार्यक्रम राख्न सुझावसमेत दिए ।
मुख्यमन्त्री गुरुङले पोखरामा गर्न लागिएको लगानी सम्मेलनमा सहभागी हुन उनलाई निमन्त्रणासमेत गरे ।
गन्डकी प्रदेश पर्यटकीय दृष्टिले विश्वमै उत्कृष्टमध्येको एक गन्तव्यस्थल रहेको र पर्यटन क्षेत्रमा लगानी गर्न अहिले अनुकूल वातावरण भएको सो अवसरमा बताए ।
त्यसक्रममा हाइनान प्रान्तका गभर्नरले गन्डकी प्रदेशको प्राथमिकताका क्षेत्रमा लगानी गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले हाइनान प्रान्त र गन्डकी प्रदेशका नागरिकबीचको सम्बन्ध र दुवै प्रदेशका निजी क्षेत्रबीचको सम्बन्ध भविष्यमा अझ सुमधुर हुने विश्वास व्यक्त गरेको जनाइएको छ ।
मुख्यमन्त्री गुरुङ असोज ८ गते चीन गएका हुन् । मुख्यमन्त्री भइसकेपछि उनको यो पहिलो विदेश भ्रमण हो । हाइनानको राष्ट्रिय दिवसमा प्रमुख अतिथिकारुपमा उनलाई निम्तो गरिएको हो ।








प्रतिक्रिया दिनुहोस्