Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


जारी फिफा विश्वकप फुटबलमा इक्वेडर, आइभरी कोस्ट र जर्मनी नकआउट चरणमा प्रवेश


0
Shares

काठमाडाैं । जारी फिफा विश्वकप फुटबलमा समूह ‘ई’ का इक्वेडर र आइभरी कोस्ट विजयी भएका छन् ।

दुवै टोली नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल भएका हुन् । ४ पटकको विश्वविजेता जर्मनी बिहीबार राति भएकाे खेलमा इक्वेडरसँग पराजित भए पनि नकआउट चरणमा पुगेको छ । जर्मनीले पहिलो खेलमा कुराकाओलाई ७–१ गाेलले र दोस्रो खेलमा आइभरी कोस्टलाई २–१ गाेलले पराजित गरेको थियो ।

लगातार दुई जितपछि जर्मनीले ६ अंक जोडेर अन्तिम खेलअघि नै समूहको शीर्ष स्थान सुनिश्चित गरिसकेको छ । त्यसकारण बिहीबार राति इक्वेडरसँग २–१ गाेलले हार्दा पनि जर्मनीको नकआउट यात्रा प्रभावित भएन ।

आइभरी कोस्ट उपविजेता तथा इक्वेडर उत्कृष्ट तेस्रो टोलीमध्ये एक बन्दै अन्तिम १६ मा पुगेका हुन् । अमेरिकाको न्युयोर्क–न्यु जर्सी रंगशालामा भएको खेलमा इक्वेडरले उपाधि दाबेदार मानिने जर्मनीलाई २–१ गाेलले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो ।

खेलको दोस्रो मिनेटमै लेरोय सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । तर नवौं मिनेटमा निल्सन एङ्गुलोले बराबरी गोल फर्काए । त्यसपछि खेलको ७७औँ मिनेटमा गोन्जालो प्लाटाले निर्णायक गोल गर्दै इक्वेडरलाई ऐतिहासिक जित दिलाएका थिए ।

अर्को खेलमा आइभरी कोस्टले कुराकाओलाई २–० गाेलले पराजित गर्दै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेकाे छ । आइभरी कोस्टका लागि निकोलस पेपेले सातौँ र ६४औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

समूह चरण सकिदा जर्मनी र आइभरी कोस्ट दुवैले समान ६–६ अंक जोडेका थिए। गोल अन्तरका आधारमा जर्मनी समूह विजेता बनेको हो भने आइभरी कोस्ट उपविजेतामा सीमित रहेकाे छ। जर्मनीमाथिको जितसँगै चार अंक पुर्याएको इक्वेडर समूहमा तेस्रो स्थानमा रहे पनि उत्कृष्ट तेस्रो टोलीमध्ये एक बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।

त्यसैगरी कुराकाओ भने एक अंकसहित समूह चरणबाटै बाहिरिएको छ ।