काठमाडाैं । फिफा विश्वकप फुटबलको समूह ‘बी’ अन्तर्गत स्विट्जरल्याण्डले क्यानाडालाई २–१ ले पराजित गर्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ ।
भ्यानकुभरमा बुधबार राति भएको खेलमा दोस्रो हाफमा रुबेन भार्गास र जोहान मान्जाम्बीले गोल गर्दै स्विट्जरल्याण्डलाई जित दिलाएका हुन् । खेलको अन्त्यतिर प्रमिस डेभिडले क्यानाडाका लागि एक गोल फर्काए पनि टोली हारबाट जोगिन सकेन । याे जितसँगै स्विट्जरल्याण्ड लगातार चौथो विश्वकपमा नकआउट चरणमा पुग्न सफल भएको छ । पराजित भए पनि क्यानाडाले पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाउँदै इतिहास रचेको हाे ।
त्यस्तै, बुधबार राति नै भएकाे अर्काे खेलमा बोस्निया एन्ड हर्जगोभिनाले कतारलाई ३–१ गाेलले पराजित गर्दै पहिलो पटक विश्वकपको नकआउट चरण पुग्ने आशा जीवित राखेको छ । १८ वर्षीय केरिम अलाजबेगोभिचको आकर्षक गोलबाट अग्रता लिएको बोस्नियाका लागि अर्को गोल आत्मघाती रूपमा प्राप्त भयो भने एर्मिन माह्मिकले तेस्रो गोल थपेका थिए। याे जितसँगै बोस्नियाले ४ अंक जोडेर क्यानाडासँग बराबरी गरे पनि हेड–टु–हेड नतिजाका आधारमा तेस्रो स्थानमा रहेकाे हाे।
अब उसले उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये परेर अघिल्लो चरण पुग्ने आशामा अन्य समूहका नतिजा कुर्नुपर्नेछ । कतार भने १ अंकसहित प्रतियोगिताबाट बाहिरिएको हाे।









प्रतिक्रिया दिनुहोस्