Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


प्रदेशको नाम र राजधानीमा कांग्रेसको आपत्ति


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, असोज १२ । नेपाली कांग्रेस प्रदेश नम्बर–७ संसदीय दलका नेता रणबहादुर रावलले संसदीय मूल्य–मान्यताविपरीत प्रदेशको नाम र राजधानी घोषणा गरिएको बताएका छन् ।

शुक्रबार कैलालीको धनगढीमा पत्रकार सम्मेलन गरी उनले प्रतिपक्षी दलको अनुपस्थितिमा नाम र स्थायी राजधानी निर्धारण गरिएको भन्दै आपत्ति जनाए ।

धनगढीमै स्थायी राजधानी बनाउने आफूहरुको धारणा सत्तापक्षले नसुनेको उनको भनाइ थियो ।

उनले धनगढीमा राजधानीका लागि करोडौं रुपैयाँ खर्च भएपनि त्यसलाई लत्याएको बताए ।

सत्तापक्षले दुईतिहाइको दम्भ देखाउँदै प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी गोदावरी पारित गरेको आरोप उनले लगाए ।

उनले गोदावरीमा राजधानी बनाउन प्रदेशको सामर्थ्य नपुग्ने भन्दै धनगढीलाई नै स्थायी राजधानी बनाउन सहमति गर्न खोजे पनि बेवास्ता गरिएको बताए ।

यस्तै, प्रदेशसभा सदस्य भरतबहादुर खड्काले राजधानी गोदावरीले सबै जिल्लालाई समेट्न नसक्ने जिकिर गरे ।

उनले पहाडी जिल्लाका जनताको भावना र मर्मविपरीत सत्तापक्षले तराईमा राजधानी बनाएको बताए ।

प्रदेश–७ को राजधानी डोटीभन्दा अरु क्षेत्रमा उपयुक्त नहुने जिकिर उनले गरे ।

यसअघि, प्रदेशसभाको शुक्रबार बसेको बैठकले दुईतिहाइ बहुमतका आधारमा प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको थियो ।

सोक्रममा प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका प्रदेशसभा सदस्यले बैठक बहिस्कार गरेका थिए ।