Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


मधेश प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सकियाे

२७ प्रतिशतले उत्पादन घट्ने कृषि विकास निर्देशनालयकाे अनुमान

13
Shares

काठमाडाैं । मधेश का ८ जिल्लामा खडेरीको प्रभावकाबीच पनि हालसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ ।

कृषि विकास निर्देशनालयले मधेश प्रदेशको बारामा सबै भन्दा बढी ९५ प्रतिशत रोपाइँ भएको जनाएकाे हाे। निर्देशनालयका निर्देशक जितेन्द्र यादवले सबै भन्दा कम महोत्तरीमा ६१ दशमलब ५ प्रतिशत रोपाइँ भएकाे बताउनुभएकाे छ। प्रदेशको कूल पाँच लाख ४२ हजार ५सय ८१ हेक्टर खेतीयोग्य क्षेत्रमध्ये तीन लाख ७२ हजार ६ सय ४५ हेक्टरमा धान रोपाइँ हुने गरेकामा अहिलेसम्म दुई लाख ८५ हजार ३ सय ३५ हेक्टरमा रोपाइँ भएको उहाँले बताउनुभयाे।

निर्देशक यादवले मधेशमा पर्याप्त वर्षा नभए पनि बोरिङको माध्यमबाट रोपाइँको क्षेत्रफल बढेको समेत बताउनुभएकाे छ। बारा र पर्सामा गण्डक नहर, सप्तरीमा कोशी, सर्लाही र रौतहटमा बागमतीबाट किसानले सिँचाइ गरेर धान रोप्दा केही सहज भएको हाे । तर, धनुषामा कमला नदी सुक्दा समस्या भएको छ।

यस वर्ष मधेशमा बढीमा ८० प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरिएको छ । ढिलो रोपाइँका कारण कूल धान उत्पादनमा करिब २७ प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवले बताउनुभयो । सुक्खा र खडेरी प्रभावित क्षेत्रका लागि भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रम अन्तर्गत प्रदेश सरकारले किसानलाई तत्काल राहत दिने घोषणा गरेपछि प्रदेशभरका २२ हजार ५२ किसानले आवेदन दिएका छन् ।

मधेश सरकारले किसानलाई सहयोगका लागि १८ करोड बजेट विनियोजन गरे पनि पर्याप्त नभएको मुख्यमन्त्री सतिशकुमार सिंहले बताउनुभयो । सिँचाइ व्यवस्थापन सहयोगका लागि मधेश सरकार संघीय सरकारको निर्णयको पर्खाइमा रहेको उहाँको भनाइ छ ।