Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


रास्वपालाई सत्य र न्यायको पक्षमा दृढ उभिन पूर्वप्रधानमन्त्री डा.भट्टराईको सुझाव


130
Shares

चितवन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सत्य र न्यायको पक्षमा दृढतापूर्वक उभिन सुझाव दिनुभएको छ।

चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले सो सुझाव दिनुभएको हो।

पूर्वप्रधानमन्त्री भट्टराईले रास्वपाले छोटो समयमै हासिल गरेको उपलब्धिलाई नेपाली राजनीतिक इतिहासको नयाँ क्रान्तिको कडीका रूपमा आफूले लिएको उल्लेख गर्नुभयो। उहाँका अनुसार आन्दोलन वा संघर्षभन्दा पनि जनताको मन जितेर तथा आधुनिक प्रविधिमार्फत विचार सम्प्रेषण गरेर प्राप्त सफलता विशेष र ऐतिहासिक प्रकृतिको रहेको छ।

उहाँले आफ्नो पुस्ताका केही नेताहरूले बाह्य शक्तिबाट प्रभावित भएको भनेर भ्रमपूर्ण विश्लेषण गर्ने गरेको उल्लेख गर्दै आफूले भने रास्वपाको उदयलाई नयाँ प्रकारको राजनीतिक क्रान्तिको रूपमा लिएको स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, “रास्वपाले चार वर्षभित्र जुन उपलब्धि हासिल गर्‍यो, आन्दोलन गरेर होइन, जनताको मन जितेर आधुनिक प्रविधिमार्फत विचार सम्प्रेषण गरेर प्राप्त यो सफलता नेपाली इतिहासको नयाँ क्रान्तिको कडी हो। मेरो पुस्ताका साथीहरूले यसलाई विभिन्न बाह्य प्रभावसँग जोड्ने गर्छन्, तर मेरो स्पष्ट धारणा के छ भने सत्य र न्यायको पक्षमा दृढतापूर्वक उभिनुपर्छ।”

उहाँले आफूले लामो समयदेखि वैकल्पिक राजनीतिक शक्तिको पक्षमा पैरवी गर्दै आएको उल्लेख गर्दै रास्वपालाई त्यस अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताउनुभयो।

पूर्वप्रधानमन्त्री भट्टराईले सुशासन र समृद्धिलाई केन्द्रमा राखेर अघि बढ्न र त्यसको लाभ सबै नेपाली नागरिकसम्म पुर्‍याउन रास्वपालाई आग्रह गर्नुभएको छ ।