Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


सिप परीक्षण उतीर्ण नगरेका श्रमिक रोजगारीका लागि आजदेखि साउदी अरब जान नपाउने

श्रमिकको व्यवसायिक दक्षता प्रमाणित गर्न नयाँ नियम लागू

13
Shares

काठमाडाैं । सिप परीक्षण उतीर्ण नगरेका श्रमिक रोजगारीका लागि बुधबारदेखि साउदी अरब जान नपाउने भएका छन् ।

नेपाली श्रमिकका लागि सिप प्रमाणीकरण अनिवार्य बनाएको साउदीले सिप परीक्षणमा अनुतिर्ण श्रमिकलाई श्रम स्वीकृति नदिने भएको हो । गत वर्ष मात्रै नेपालसँग श्रम सम्झौता गरेको साउदी सरकारले श्रम भिसा प्राप्त गर्न सिप प्रमाणिकरण कार्यक्रम लागु गरेको जनाएको छ । यसका लागि श्रमिकलाई आर्थिक बोझ भने थपिएको हाे । सिप परीक्षाका लागि ५० अमेरिकी डलर र पूर्वसिकाइ मान्यता शुल्क ५० अमेरिकी डलर गरी कुल १ सय अमेरिकी डलर तिर्नुपर्ने नयाँ नियम थपिएको छ ।

तर, सिप प्रमाणिकरण कार्यक्रम लागु गर्ने विषयमा दुई देशबीच कुनै औपचारिक छलफल वा सहमति भने भएको छैन । साउदी अरबले नेपाल सरकारसँग कुनै छलफल वा सहमति नगरी एकतर्फी रूपमा निर्णय गर्दै सिप परीक्षण अनिवार्य गरेको भन्दै आलोचना भइरहेको छ । साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले भने एक सूचना जारी गर्दै श्रमिकको व्यावसायिक दक्षता प्रमाणित गर्न यो कार्यक्रम लागू गरिएको दावी गरेको हाे ।

सीप परीक्षामा सहभागी हुने श्रमिकले तीन पटकसम्म अवसर पाउने भएका छन् । तीनै पटक असफल भएमा सम्बन्धित श्रमिकले साउदीमा रोजगारीका लागि जान पाउने छैनन् । नयाँ नियममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले असन्तुष्टि जनाएको हाे । श्रमिकमाथि अतिरिक्त आर्थिक भार थपिने र वैदेशिक रोजगार प्रक्रिया झनै जटिल बन्ने संघको जिकिर रहेको छ ।