काठमामाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनताले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तिब्र विकास, शान्ति र प्रगति चाहेको बताउनुभएको छ ।
सोमवार लोकसेवा आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकसेवा आयोगको साढे सात दशक लामो इतिहासमा कायम रहेको निष्पक्षता, योग्यता र स्वच्छताको सिद्धान्तलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले आयोगप्रतिको अटुट जनविश्वास नै यसको सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य लक्ष्य सुशासन, प्रभावकारी सेवा प्रवाह र मुलुकको तिब्र विकास भएको बताउनु भयो । जनताको यो आकांक्षा पूरा गर्न राज्य संयन्त्रलाई समय अनुकूल जनमुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
राष्ट्रपति पौडेलले आयोगलाई आफ्नो कार्यसम्पादनमा आधुनिक प्रविधिको प्रयोग बढाउन र समयसापेक्ष परीक्षण विधि अवलम्वन गर्न सुझाव दिनुभयो । कार्यक्षेत्र विस्तारसँगै गुणस्तर कायम राख्नु र वैज्ञानिक एवं व्यवस्थित भावी योजना तय गर्नु आयोगका लागि मुख्य चुनौती रहेको उहाँले औंल्याउनुभयो ।
संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको मर्म अनुरूप योग्यता प्रणालीको रक्षा गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले आयोगकै कारण मेहनती युवाहरूले लोकतान्त्रिक व्यवस्थामा आफ्नो भविष्य सुरक्षित देखेको बताउनु भयो । विगतको अनुभव र विश्वव्यापी रूपमा विकसित सिद्धान्तहरूको अध्ययन गरी आयोगले आगामी दिनमा आफ्ना कार्यहरूलाई थप परिष्कृत र प्रभावकारी बनाउने विश्वास समेत राष्ट्रपतिले व्यक्त गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्