Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


काठमाडाैं उपत्यकासहित १० जिल्लामा बर्डफ्लू पुष्टि भएका करिब ७ लाख पन्छी नष्ट

कृषकलाई क्षतिपूर्ति उपलब्ध गराउने पशुसेवा विभागकाे तयारी

0
Shares

काठमाडाैं । पशुसेवा विभागले काठमाडाैं उपत्यकासहित १० जिल्लामा बर्डफ्लू पुष्टि भएका करिब ७ लाख पन्छी नष्ट गरेको छ ।

विभागले प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पन्छीसहित करिब ३ लाख किलो दाना नष्ट गरिएको जनाएकाे हाे ।  काठमाडाैं , ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलिन नदिन सम्बन्धित जिल्लामा ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन गरिएको विभागका महानिर्देशक डा . उमेश दाहालले बताउनुभयाे। बर्डफ्लूको खोप विकास नभएकाले सङ्क्रमण देखिनासाथ पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गरिएको हो । विभागले करिब ११ लाख अण्डा समेत नष्ट गरिएको जनाएकाे छ ।

सम्बन्धित किसानलाई नष्ट गरिएका पन्छीको नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराइने विभागले जानकारी गराएकाे हाे । प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत किसानको नोक्सानीको मूल्यांकन गरी विवरण तयार गरी विभागमा विवरण पठाइने भएकाे छ । जसका आधारमा सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरी क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरिएकाे विभागले जनाएकाे हाे ।