काठमाडाैं । भिमसेनथापा गाउँपालिकाले विपद व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न गरेको छ ।
प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेशको आयोजना तथा स्थानीय स्काउट भिमसेनथापा गाउँपालिकाको समन्वयमा एकदिने विपद् व्यवस्थापन तालिम सफलतापूर्वक सम्पन्न गरिएकाे हाे ।
विपद्का समयमा अपनाउनुपर्ने सुरक्षा उपाय, उद्धार तथा आपत्कालीन प्रतिकार्यसम्बन्धी ज्ञान तथा सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा आगलागी सुरक्षा सावधानी, प्राथमिक उपचार, विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धारलगायतका विषयमा व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको थियो।
तालिममा ६५ जना पुरुष स्काउट, महिला स्काउट तथा स्काउट मास्टरहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण कृष्णकुमार राजवाहक, प्रतीक्षा खनाललगायत अनुभवी प्रशिक्षकहरूले गर्नुभएको थियो। विशेषगरी प्राथमिक उपचार, आगलागी नियन्त्रण, खोज तथा उद्धार तथा आपत्कालीन प्रतिकार्यसम्बन्धी तालिममा सिकाइएकाे थियाे ।
स्थानीय स्काउट भिमसेनथापा गाउँपालिकाका स्थानीय प्रमुख आयुक्त रामचन्द्र लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भिमसेनथापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जरा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी गाउँपालिका उपाध्यक्ष अमृता देवी भट्ट, नेपाल स्काउट गण्डकी प्रदेशका प्रदेश प्रमुख आयुक्त सागर पौडेल, प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारी, प्रदेश स्काउटका सदस्यता वृद्धि आयुक्त महेन्द्र उपाध्याय, प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेशका प्रदेश अधिकृत विजय पौडेललगायत विभिन्न सरोकारवाला व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।









प्रतिक्रिया दिनुहोस्