Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ


936
Shares

काठमाडाैं ।
कास्की प्रहरीले पोखराबाट ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध एलएसडीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार नाइजेरियाबाट हुलाकमार्फत लागुऔषध मगाइएको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो ।

सोही क्रममा पोखरा महानगरपालिका वडा नं. ७ स्थित हुलाक कार्यालय बाहिरबाट उक्त सामग्री बुझ्न आएका भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नविन कार्कीकाअनुसार पक्राउ परेका व्यक्तिको साथबाट १ हजार पत्ता एलएसडी बरामद गरिएको छ ।

पर्यटकका रूपमा पोखरा आएका ती नागरिक लेकसाइडस्थित एक होटलमा बस्दै आएका थिए । उहाँले होटलकै ठेगानामा हुलाकमार्फत उक्त लागुऔषध मगाएको अनुसन्धानबाट खुलेको बताउनुभयो । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद लागुऔषधको परिमाण, यसको सम्भावित कारोबार र यसमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्यलाई तीव्रता दिइएको एसपी कार्कीले बताउनु भयो ।

अन्तर्राष्ट्रिय सञ्जालमार्फत नेपालमा लागुऔषध भित्र्याउने प्रयास बढ्दै गएको भन्दै प्रहरीले यस्ता अवैध गतिविधि विरुद्ध कडा निगरानी र कारबाही जारी रहने स्पष्ट पारेको छ ।