Logo २५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026


मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र भयाे : सीके राउत


182
Shares

काठमाडौं ।
जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको टिप्पणी गर्नुभएको छ ।

आज माईतीघरमा जनमत पार्टीले गरेको प्रदर्शनका क्रममा उहाँले नेपालमा जुनसुकै शासन व्यवस्था आए पनि मधेशका मागप्रति अनुदार हुने गरेको गुनासो गर्नुभयो । उहाँले मधेसबाट मत लिएर सरकार बनाउने तर मधेसका अधिकारका सवालमा बेवास्ता गर्ने प्रवृत्ति निरन्तर रहेको आरोप लगाउनुभयो ।

राणा शासनकालमा मधेशमाथि उपनिवेशवादी शासन लादिएको दाबी गर्दै उहाँले पछिल्ला ७५ वर्षमा कांग्रेस र कम्युनिष्ट दलहरूले पनि मधेशलाई विभिन्न रूपमा ठग्दै आएको जिकिर गर्नुुभयो । २००७ सालपछि कांग्रेस र कम्युनिष्टहरुले सत्ताको नेतृत्व गरेपनि आजसम्म मधेसीलाई पूर्ण अधिकार नदिएको उल्लेख गर्दै नागरिकता, सुकुम्बासी व्यवस्थापन र स्वायत्तता लगायतको मधेसको माग पूरा हुन नसकेको बताउनुभयो ।

उहाँले सशस्त्र द्वन्द्वका क्रममा पनि मधेसी समुदाय अपेक्षित उपलब्धिबाट वञ्चित भएको दाबी गर्दै माओवादी नेतृत्वको आन्दोलनबाट समेत मधेशीहरू ठगिएको बताउनु भयो । मधेशको राजनीतिक, सामाजिक र संवैधानिक अधिकार सुनिश्चित नभएसम्म विभेद अन्त्य नहुने उहाँको दाबी छ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गदै आज माइतीघरमा प्रदर्शन गरेको हो ।

प्रर्दशनमा सहभागीहरुले प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा, कर्मचारी प्रशासन तथा स्थानीय तहलाई प्रदेश मातहत राख्न, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न तथा प्रहरी प्रशासन र प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकार मातहत ल्याउन माग गरेका छन् ।

उनीहरुले वैदेशिक रोजगारीसँग सम्बन्धित समस्या समाधान गर्न, किसानलाई मलखाद तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउन, चुरे क्षेत्रमा भइरहेको दोहन र अतिक्रमण रोक्न तथा मधेशी, थारु, दलित, मुस्लिम, आदिवासी, जनजाति, पिछडावर्ग, सुकुम्बासी र अल्पसंख्यक समुदायमाथि हुने दमन, शोषण र विभेद अन्त्य गर्न सरकारसँग आग्रह गरेका छन् ।