Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


दुई दर्जन बढी जिल्लामा रास्वपाको अधिवेशन सम्पन्न


325
Shares

काठमाडौं । आगामी असार ७ गतेदेखि प्रथम महाधिवेशनको तयारीमा जुटेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज दुई दर्जन बढी जिल्लाहरुमा जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।

तराइका केही जिल्लामा विवाद भएर स्थगित भएको बाहेक अधिकांश जिल्लामा सर्वसम्मपति र निर्वाचन मार्फत नेतृत्व चयन गरिएको छ । कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायतका जिल्लाहरुमा आज अधिवेशन गरिएको हो । रास्वपाको केन्द्रीय निर्वाचन आयोगका अनुसार काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित हुनुभएको छ भने भक्तपुरमा रामेश्वर बस्नेत सभापति बन्नुभएको छ ।

यस्तै, काभ्रेपलाञ्चोकमा प्रविन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुरको सभापतिमा सञ्जिव पाठक निर्वाचित भएका छन् । सिन्धुपाल्चोकमा भने अधिवेशन स्थगित भएको छ ।

यस्तै यस्तै कोशी प्रदेशको सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कँडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, सङ्खुवासभामा भक्तनारायण श्रेष्ठ, ओखलढुङ्गामा कृष्णबहादुर थापा सभापतिमा निर्वाचित भएका छन् ।

मधेश प्रदेशको बारामा पनि विवाद भएपछि अधिवेश स्थगित गरिएको छ । हिजो रास्वपाले ३७ जिल्लामा अधिवेशन सम्पन्न गरेको थियो । विभिन्न १० वटा जिल्लामा भने राष्ट्रिय महाधिवेशनपछि जिल्ला अधिवेशन गरिने भएको छ । रास्वपाले जिल्ला अधिवेशनहरु सम्पन्न गर्न प्रत्यक्ष निर्वाचित तथा समानुपातिलक सांसदहरुलाई जिल्ला जिल्लामा खटाए पनि उनीहरुलाई केन्द्रीय सदस्य बाहेकका पदमा उम्मेदवार बन्न बन्देज गरेको छ ।

जेठ २६ देखि असार १ गतेसम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ भने प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८, ९ गते चितवनमा हुँदैछ ।