Logo २२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026


निर्वाचन आयोगले पठायाे प्रतिनिधिसभा १०५ सदस्यीय बनाउन सरकारलाई २१ बुँदे सुझाव पत्र

राष्ट्रियसभाका अध्यक्षलाई नै उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव

52
Shares

काठमाडौं । निर्वाचन आयोगले सरकारलाई प्रतिनिधिसभा १ सय ५ सदस्यीय बनाउन सुझाव दिएको छ ।

आयोगले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित संविधान संशोधन कार्यदललाई संविधान संशोधनकाे बारेमा राय दिँदै प्रतिनिधिसभा १ सय ५ सदस्यीय बनाउनु उपयुक्त हुने सुझाव पठाएको हो । कार्यदललाई लिखित सुझाव दिँदै आयोगले हालको २ सय ७५ सदस्यीय प्रतिनिधिसभालाई घटाउन सुझाव दिएकाे छ । स्थानीय तह गैरदलीय बनाउन सकिने पनि आयोगको सुझाव रहेकाे हाे।

आयोगले दिएको २१ बुँदे सुझाव पत्रमा राष्ट्रियसभाका अध्यक्षलाई नै उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्न दिन सुझाव दिएकाे छ । साथै संघ र प्रदेशमा विज्ञ मन्त्रिपरिषद् गठन गर्दा उपयुक्त हुने आयोगको ठहर रहेकाे छ । २१ वर्ष उमेरको नागरिकले प्रतिनिधिसभाको निर्वाचन र ३० वर्ष उमेर पुगेकालाई राष्ट्रियसभाको उम्मेदवार बन्न उपयुक्त हुने आयोगको सुझाव पत्रमा उल्लेख गरिएकाे छ ।

हाल प्रतिनिधिसभा सदस्यका लागि २५ वर्ष पूरा भएको हुनुपर्ने र राष्ट्रियसभाको उम्मेदवार बन्नका लागि ३५ वर्ष उमेर पुगेको हुनुपर्ने संविधानमा व्यवस्था रहेकाे छ । आयाेगले एक जिल्लालाई एक निर्वाचन क्षेत्र मानी प्रत्यक्षतर्फ ७७ जनाको व्यवस्था गर्न सुझाव दिएको आयोगले समानुपातिकतर्फ २८ सदस्य मात्रै राख्न सकिने सुझाव दिएको हाे ।

विद्यमान संविधानको धारा ८४ मा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० गरी २ सय ७५ सदस्यीय प्रतिनिधिसभा गठन हुने व्यवस्था र राष्ट्रियसभा भने ५९सदस्यीय छ । प्रदेशमा समानुपातिक व्यवस्था हटाउन पनि आयोगले कार्यदललाई पठाउकाे सुझाव पत्रमा उल्लेख गरिउकाे छ ।