Logo १६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026


युवायुवतीलाई प्रलोभनमा पारी विदेश पठाउने नाममा २९ लाख बढी ठगी गर्ने २ जना प्रहरी हिरासतमा


13
Shares

काठमाडौं । रोजगारीका लागि विदेश पठाउने नाममा २९ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि फ्रान्स, जर्जिया, माल्टालगायत देश पठाउने बहानामा लामो समयसम्म झुक्याएर राखी विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरेकाे हाे । सिन्धुपाल्चोकको साँगाचोकगढी गाउँपालिका–२ की २६ वर्षीया निमा तामाङ तथा महोत्तरीको बर्दिबास नगरपालिका–६ का २४ वर्षीय विवेक साहलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।

पक्राउ परेकामध्ये तामाङले फ्रान्स पठाउने भन्दै २२ लाख ८५ हजार र साहले जर्जिया र माल्टा पठाउने भन्दै ६ लाख ३५ हजार लिएर सम्पर्कविहीन भएका थिए । तर दुवै जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएकाे प्रहरीले बताउकाे हाे ।