Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


बीवाइडीका गाडी सशस्त्रको नियन्त्रणमा


1.7k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलले भन्सार छलेर नेपाल भित्र्याएको आशंकामा ७७४ वटा विद्युतीय सवारी साधन नियन्त्रणमा लिएको छ ।

मुस्ताङको कोरला नाका हुँदै नेपाल भित्र्याइएका बीवाइडी कम्पनीका विद्युतीय गाडी विभिन्न स्थानबाट सशस्त्रले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार भन्सार छलेर गाडी भित्र्याइएको गोप्य सूचनाका आधारमा विभिन्न स्थानमा एकसाथ निगरानी तथा जाँच अभियान सञ्चालन गरी ती गाडीहरु नियन्त्रणमा लिइएको हो ।

मुस्ताङको जोमसोम, पर्वतको कुश्मा र कास्कीको हेम्जा क्षेत्रबाट गरी कुल ७७४ वटा विद्युतीय सवारी साधन नियन्त्रणमा लिइएको हो । मुस्ताङस्थित ३३ नम्बर गुल्म, म्याग्दी गुल्म, पर्वतको चण्डिका गण र कास्कीको कालिका गणबाट खटिएका सशस्त्रका टोलीले गाडी नियन्त्रणमा लिएका हुन् ।

विभिन्न स्थानमा जाँच गर्दा आवश्यक भन्सार प्रक्रिया पूरा नभएको पाइएपछि ती सवारीसाधनहरू नियन्त्रणमा लिएको पनि सशस्त्र प्रहरीले जनाएको छ । यता, रसुवा नाका हुँदै भित्रिएका दुई वटा त्यस्तै गाडी नुवाकोटको पासाङल्हामु राजमार्गबाट नियन्त्रणमा लिइएको पनि सशस्त्र प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका सवारी साधनहरूको आयात प्रक्रिया, भन्सार तिर्नुपर्ने राजस्व तथा सम्बन्धित कागजातबारे विस्तृत अनुसन्धान भइरहेको पनि सशस्त्र प्रहरीले जनाएको छ ।

अनुसन्धान पूरा भएपछि आवश्यक कानूनी प्रक्रिया अघि बढाइने र सम्बन्धित निकायसँग समन्वय गरी थप कारबाही गरिने सशस्त्र प्रहरी बलले जनाएको छ । १७६ वटा बीवाइडीका गाडी भने अहिले पनि जोमसोम भन्सार कार्यालयमा भन्सार जाँचपास हुनै बाँकी रहेको पाइएको छ ।