Logo २१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026


सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते


351
Shares

माधव पोखरेल, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ बुद्ध चोकस्थित भित्री सडकखण्डमा मंगलबार बिहान ५ बजे भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।

थरुहट रंगशाला तथा मदन भण्डारी सभाहल नजिकको जनप्रेमी स्कुलबाट बुद्ध चोकतर्फ जाँदै गरेको स ९ प ८२५३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई स्थानीय बलदेव चौधरीको इट्टाको पर्खालमा ठक्कर खाँदा उक्त दुर्घटना भएकाे छ ।

जिल्ला प्रहर कार्यालय उदयपुरले दिएको जानकारी अनुसार दुर्घटनामा परि गम्भीर घाइते भएका त्रियुगा न.पा. वडा नं १२ बस्ने २४ वर्षीय मोटरसाइकल चालक हेमन्त सदालाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर पठाइएकोमा उपचारकै क्रममा राति अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।

सोही मोटरसाइकलको पछाडि सवार त्रियुगा न.पा.वडा नं १२ सोनापुर बस्ने १८ वर्षीय राकेश सदाको शरीरका विभिन्न भागमा चोट लागेको र जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि विराटनगर स्थित सुविधा सम्पन्न अस्पतालमा रेफर भई हाल न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ घटनास्थलमा नगर प्रहरी कार्यालय त्रियुगाबाट प्रहरी टोली खटि गई आवश्यक उद्दारका कार्यहरु गरेको थियो ।

दुर्घटनाग्रस्त मोटरसाइकललाई नियन्त्रणमा लिई उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।