Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


करेन्टको पासोमा परेर मर्न थाले हात्तीः हालसम्म १० जंगली हात्तीको मृत्यु(भिडियो)


0
Shares

-रविन भट्टराई/ईमेज:

झापा । पछिल्लो समय झापाको मेचीनगरमा हात्ती मृत अवस्थामा भेटिन थालेका छन् ।

बेलाबखत मानिसलाई दुःख दिने हात्ती करेन्ट लागेर मरेको पाइएको छ । जसले हात्तीको संरक्षणमा थप चुनौती थपेको छ ।

केही दिनअघि झापाको मेचीनगर नगरपालिकास्थित धानखेतमा मृत अवस्थामा हात्ती भेटियो । दुवै दाह्रा हिलोमा गाडिएको हात्ती कालगतिले नभई करेन्ट लागेर मरेको थियो ।

त्योभन्दा पहिले मेचीनगरकै पाँचपोखरी सामुदायिक बनमा पनि एक हात्ती मृत अवस्थामा भेटिएको थियो ।

त्यो पनि करेन्ट लागेरै मरेको थियो । हालसम्म झापाको यस क्षेत्रमा मात्रै १० वटा हात्ती मरिसकेका छन् ।

यस्ता संरक्षित जन्तुलाई  अनाहकमा करेन्ट लगाएर मार्दै जाने हो भने यसको संरक्षण कसरी होला ?

हात्ती भगाउन मान्छेले लगाएको करेन्टयुक्त तारको पासोकै कारण हात्तीको मृत्यु भएको जिल्ला वन डिभिजन कार्यालय झापाको अनुसन्धानले देखाएको छ ।

हालसम्म भेटिएका मृत हात्ती प्रायः करेन्टकै कारण मरेको जिल्ला वन डिभिजन कार्यालय झापाका सहायक वन अधिकृत नथुनीगोयल यादव बताउँछन् ।

समुहमा बच्चासहित आउने हात्ती तार देखेपछि बच्चालाई करेन्ट लाग्ने सोचेर तारको नजिक पर्दैनन् तर एक्लै आउने हात्ती दाह्राले तार हटाउन खोज्दा करेट लागेर मर्ने गरेका छन् ।

हालसम्मको अनुसन्धानमा हात्ती कालगतिले नभइ करेन्टकै कारण मृत भेटिएको पशु सेवा शाखा कार्यालय काँकरभिट्टाका पशुसेवा अधिकृत दिवाकान्त चौधरीको भनाइ छ । 

हात्तीले मानिसलाई दुःख दियो भन्दैमा यस्ता महत्वपूर्ण जनावरको क्षति गर्नु निन्दनीय अपराध हो । यद्यपी, यस विषयलाई गम्भीरताका साथ मनन भने गरिएको छैन ।

हात्तीबाट पनि मानिसले दुःख झेल्नु हुँदैन र मानिसबाट पनि हात्ती मारिनु हुँदैन ।

हात्ती संरक्षणको लागि सरोकारवाला निकायले उचित व्यवस्थापन गर्न सके मान्छे र हात्तीबीचको द्धन्द रोकिने थियो ।